२०८३ साउन १० आइतबार

बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने अनुमान, कृषि क्षेत्रको उत्पादनमा मिश्रित संकेत

ई आर्थिक    शुक्रबार, जेष्ठ १ २०८३
1.5K
Shares
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने अनुमान, कृषि क्षेत्रको उत्पादनमा मिश्रित संकेत

काठमाडौं ।  बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी अर्धवार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। प्रतिवेदनले प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व कायम रहेको देखाएको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको समग्र आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ भने गत आर्थिक वर्ष २०८१/८२ को संशोधित वृद्धिदर ४.४३ प्रतिशत रहेको छ। बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.१ प्रतिशत रहेको छ। कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान ११.१ प्रतिशत रहने अनुमान गरिएको छ।

कृषि क्षेत्रमा उत्पादन बढे पनि खेतीयोग्य क्षेत्र घट्यो

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा बागमती प्रदेशमा खाद्य बालीले ढाकेको क्षेत्रफल १०.६ प्रतिशतले घटेको छ। यद्यपि खाद्य बाली उत्पादन भने ६.१ प्रतिशतले बढेको देखिएको छ।

धान उत्पादन १.५ प्रतिशतले घटेको छ भने मकै, गहुँ, कोदो, जौ र फापर उत्पादनमा सामान्य वृद्धि भएको छ। तरकारी खेतीको क्षेत्रफल ४.७ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ।

पशुपालनतर्फ दूध उत्पादन ७३.३ प्रतिशतले घटेको छ भने मासु, अण्डा र छाला उत्पादनमा पनि कमी आएको छ। ऊन उत्पादन भने ०.५ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाबाट कृषि, वन तथा माछापालन क्षेत्रमा १ खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन प्रदेशमा प्रवाहित कुल कर्जाको ३.५३ प्रतिशत हो।

उद्योग क्षेत्रको क्षमता उपयोग बढ्यो

समीक्षा अवधिमा अध्ययनमा समेटिएका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३९.५ प्रतिशत पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो उपयोग ३३.८ प्रतिशत थियो।

गार्मेन्ट उद्योगको क्षमता उपयोग सबैभन्दा उच्च रहेको छ भने औषधि उत्पादनतर्फ ड्राई सिरप उत्पादन गर्ने उद्योगको क्षमता उपयोग न्यून रहेको प्रतिवेदनले देखाएको छ। यस अवधिमा प्रदेशमा प्रवाहित औद्योगिक कर्जा कुल कर्जाको ३६.८९ प्रतिशत रहेको छ।

होटल क्षेत्र स्थिर, घरजग्गा राजस्वमा उल्लेख्य वृद्धि

अध्ययनमा समेटिएका होटलहरूको औसत क्षमता उपयोग ५१.१५ प्रतिशत रहेको छ, जुन गत वर्षको तुलनामा लगभग स्थिर हो।

घरजग्गा रजिष्ट्रेशन संख्या ७.६३ प्रतिशतले घटे पनि त्यसबाट प्राप्त राजस्व भने ७९.०२ प्रतिशतले बढेको छ। यसैबीच बैंक तथा वित्तीय संस्थाको निक्षेप १२.९१ प्रतिशत र कर्जा प्रवाह ८.०७ प्रतिशतले वृद्धि भएको छ। प्रदेशको कर्जा–निक्षेप अनुपात ६८.९१ प्रतिशत पुगेको छ।

राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन

बागमती प्रदेशमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना तथा काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजना लगायत राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन अवस्थामा रहेका छन्। साथै गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना पनि निर्माण चरणमा रहेको छ।

वैदेशिक रोजगारीमा ६७ हजारभन्दा बढी

आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म बागमती प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ६७ हजार १५९ पुगेको छ। त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ८७९ जनाले रोजगारी प्राप्त गरेका छन्।

प्रतिवेदनले राष्ट्रिय स्तरमा आर्थिक वृद्धिदर सुस्त रहने अनुमानसँगै बागमती प्रदेशको आर्थिक वृद्धि पनि अपेक्षाकृत कम रहने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij