काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘ननग्रेडेड’ भएका विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पोखरेलले एक महिनाभित्र एसइई नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता सफलतापूर्वक कार्यान्वयन भएको उल्लेख गर्दै अब असफल विद्यार्थीलाई लक्षित गरी विशेष तयारी कक्षा सञ्चालन गरिने जानकारी दिए।
सोमबार सार्वजनिक भएको एसइई नतिजाअनुसार दुई लाख ८४ हजार १६० विद्यार्थी ‘ग्रेडेड’ भएका छन् भने कुल उत्तीर्ण प्रतिशत ६५ दशमलव ९८ रहेको छ। यस्तै, एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका छन्। उनीहरूले आगामी ग्रेडवृद्धि (मौका) परीक्षामा सहभागी हुन पाउनेछन्।
मन्त्री पोखरेलले देशभरका विद्यालय भवन, खेलमैदान, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अन्य शैक्षिक संरचनाको विस्तृत अध्ययन सम्पन्न भएपछि विद्यालय तहको पूर्वाधार पुनर्संरचना गरिने बताए।
बैठकमा सांसदहरूले सुकुम्बासी बस्तीबाट विस्थापित बालबालिकाको पठनपाठनका लागि विशेष व्यवस्था गर्न, शिक्षा विधेयक शीघ्र ल्याउन, खेलकुद विश्वविद्यालय स्थापना गर्न तथा विद्यार्थीका लागि ई–बुकको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका थिए।
त्यस्तै, विद्यालय खाजा कार्यक्रममा देखिएको अनियमितता नियन्त्रण गर्न, विभिन्न १७ प्रकारका शिक्षकका समस्या समाधान गर्न तथा व्यावसायिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिँदै विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो।