काठमाडौं । काठमाडौंका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका अवैध संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ। सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा विभिन्न स्थानमा यस्तो कार्य भइरहेको हो।
धोबीखोला नदी करिडोर अन्तर्गत अनामनगर–देवीनगर क्षेत्रमा रहेका अव्यवस्थित तथा अतिक्रमित संरचना हटाइएको छ। त्यस्तै विष्णुमति नदी किनारका बालाजु–माछापोखरी तथा तिलगङ्गा क्षेत्रमा पनि अतिक्रमण हटाउने कार्य जारी रहेको जनाइएको छ।
यसैगरी कपनको साततले, पाथीभरा र तेन्जिङ चोक आसपास अवैध रूपमा निर्माण गरिएका घर तथा टहराहरू हटाउने काम भइरहेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
अभियानका क्रममा विस्थापित भएका परिवारलाई अस्थायी रूपमा कीर्तिपुर, बालाजु र भक्तपुरस्थित होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यहाँ बसोबास गरिरहेका भूमिहीन तथा सुकुमवासीको पहिचान गरी आवश्यक व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ।
यसैबीच सहरी विकास मन्त्रालयले सहयोग आवश्यक भएका नागरिकलाई दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई विवरण दर्ता गर्न आग्रह गरेको छ।