२०८३ साउन १० आइतबार

नमः बुद्ध हाइड्रोपावरका लागि वित्तीय सुनिश्चितता, लुम्बिनी विकास बैंकसँग सम्झौता

ई आर्थिक    शुक्रबार, बैशाख १८ २०८३
2.6K
Shares
नमः बुद्ध हाइड्रोपावरका लागि वित्तीय सुनिश्चितता, लुम्बिनी विकास बैंकसँग सम्झौता

सिद्धार्थनगर : पाल्पाको तिनाउ गाउँपालिकामा निर्माणाधीन नमः बुद्ध हाइड्रोपावर आयोजनाका लागि वित्तीय सुनिश्चितता भएको छ। ३.४४ मेगावाट क्षमताको यस आयोजनाको निर्माणका लागि लुम्बिनी विकास बैंक लिमिटेड सँग ऋण लगानीसम्बन्धी सम्झौता गरिएको हो।

तिनाउ गाउँपालिकास्थित एक कार्यक्रममा बैंक र नमः बुद्ध हाइड्रो इनर्जी प्रालिबीच करिब ७० करोड रुपैयाँ लागतको जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको हो। उक्त आयोजना भिजन लुम्बिनी द्वारा प्रवर्द्धित हो।

सम्झौतापत्रमा बैंकका डेपुटी सिइओ सुमन आचार्य, अध्यक्ष चिन्तामणि भट्टराई तथा आयोजनाका तर्फबाट मुख्य प्रवर्द्धक एवं भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोख्रेल र लगानीकर्ता योगेश पोख्रेल ले हस्ताक्षर गर्नुभएको थियो।

कार्यक्रममा डेपुटी सिइओ आचार्यले आयोजनाको प्राविधिक, वातावरणीय तथा स्थानीय सहभागितालगायत पक्षहरूको मूल्याङ्कनपछि लगानी गर्ने निर्णय गरिएको बताउनुभयो। साथै, सम्भावित जोखिमहरूको सूक्ष्म अध्ययन र व्यवस्थापन गरिने उल्लेख गर्नुभयो।

बैंकका अध्यक्ष भट्टराईले भिजन लुम्बिनीसँग सहकार्य गर्न पाउँदा खुसी लागेको व्यक्त गर्नुभयो। तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ ले गाउँपालिकामा पूर्वाधार विकाससँगै जलविद्युत् आयोजनाले थप आर्थिक सम्भावना सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रको लगानी सुरक्षालाई सरकारले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

भिजन लुम्बिनीका अध्यक्ष पोख्रेलले सामूहिक लगानीमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिएको बताउनुभयो।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित हुनेहरूमा अनुपमान सैजु, विनोद पराजुली, कमलजङ्ग कुँवरसन्दिप कसौधन लगायत रहनुभएको छ। उनीहरूलाई कदरपत्र र दोसल्ला प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij