२०८३ साउन १० आइतबार

पोर्चुगलको उपविदेश मन्त्री जेभियर नेपाल भ्रमणमा, परराष्ट्रमन्त्री खनालसंग भेटवार्ता

ई आर्थिक    बिहिबार, बैशाख १७ २०८३
1.4K
Shares
पोर्चुगलको उपविदेश मन्त्री जेभियर नेपाल भ्रमणमा, परराष्ट्रमन्त्री खनालसंग भेटवार्ता

काठमाडौँ  । पोर्चुगलकी उपविदेश मन्त्री डा. आना इसाबेल जेभियरले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेकी छन्। तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आएकी उनीले परराष्ट्र मन्त्री शिशिर खानालसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र सचिव अमृत बहादुर राईसँग द्विपक्षीय छलफल गरेकी हुन्।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खानालले पोर्चुगलका परराष्ट्र मन्त्री पाउलो रेन्जेलसँग हालै भएको टेलिफोन वार्तालाई स्मरण गर्दै काठमाडौंमा पोर्चुगलले कूटनीतिक नियोग स्थापना गर्ने निर्णयलाई स्वागत गरेका थिए। उनले नियोग स्थापनाका लागि नेपाल सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।

त्यस अवसरमा मन्त्री खानालले नेपाली नागरिकका कन्सुलर मामिलामा पोर्चुगल सरकारले देखाएको सकारात्मक दृष्टिकोणप्रति धन्यवाद पनि व्यक्त गरे।

उपविदेश मन्त्री जेभियरले मन्त्री खानाललाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी थिइन्।

यसैगरी परराष्ट्र सचिव राईसँग भएको छलफलमा नेपाल–पोर्चुगल सम्बन्धका विविध पक्षको समीक्षा गरिएको थियो। दुवै पक्षले हालैका वर्षहरूमा दुई देशबीचको सम्बन्धमा देखिएको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

विशेषगरी सन् २०२६ फेब्रुअरीमा लिस्बनमा सम्पन्न नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकपछि सम्बन्ध अझ सुदृढ भएको उल्लेख गरिएको छ।

बैठकमा पर्यटन, लगानी, व्यापार, श्रम, डिजिटलाइजेसन लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा नयाँ सम्भावित सहकार्यका क्षेत्र पहिचान गर्ने विषयमा सहमति भएको मन्त्रालयले जनाएको छ।

उपविदेश मन्त्री जेभियरको सम्मानमा परराष्ट्र सचिव राईले दिवा भोजसमेत आयोजना गरेका थिए।

उनी १ मे २०२६ मा काठमाडौं भ्रमण सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij