२०८३ साउन १० आइतबार

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

ई आर्थिक    बिहिबार, बैशाख १७ २०८३
1.5K
Shares
मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौं । मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ। नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को संयुक्त आयोजनामा मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी मनाउन लागिएको हो।

दुई संस्थाले बुधबार संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ५१६ मिटर उचाइको ल्होत्से आरोहणको ७० वर्षको अवसरमा ‘प्लाटिनम जुबिली’ मनाउन लागेको जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपाललाई विश्व पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम मनाउन लागिएको बताए। ‘मनास्लु क्षेत्रको चुमनुब्री र ल्होत्से क्षेत्रको खुम्बुमा केन्द्रित भएर संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ’, उनले भने।

एनएमएका अध्यक्ष फुरगेल्जे शेर्पाले ‘प्लाटिनम जुबिली’ नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताए। मनास्लु र ल्होत्सेको पहिलो आरोहणले नेपाल, जापान र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय पर्वत सङ्ग्रहालयमा मनास्लु हिमालको ‘थ्रिडी मोडेल’ उद्घाटन गरिने अध्यक्ष शेर्पाले बताए।

गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले मनास्लु हिमालका पहिलो आरोहीको प्रतिमा निर्माण अन्तिम चरणमा पुगेको बताए। उक्त प्रतिमालाई ‘मनास्लु डे’ का अवसरमा अनावरण गरिने उनले जानकारी दिए।

सन् १९५६ मा मनास्लु र ल्होत्से दुवै हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरिएको थियो। मनास्लु हिमाल सन् १९५६ मे ९ मा जापानी अभियान टोलीसँगै नेपाली आरोही उर्केन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल स्विस पर्वतारोही अन्स्र्ट राइस र फ्रिट्ज लुक्सिङ्गरले पहिलो पटक आरोहण गरेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij