राजस्व अनुसन्धान विभागद्वारा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता
काठमाडौं : राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा दायर गरेको छ।
विभागका निर्देशक सचितकुमार वाइवाका अनुसार बुधबार काठमाडौं जिल्ला अदालत, बबरमहलमा अभियोगपत्र दर्ता गरिएको हो।
दायर मुद्दाअनुसार विकल पौडेलविरुद्ध ६१ करोड १३ लाख २१ हजार १ सय ५३ रुपैयाँ र एलिना बस्नेतविरुद्ध ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबर बिगो दाबी गरिएको छ।
विभागले उनीहरूले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३(१) का ‘क’, ‘ख’ र ‘ग’ अन्तर्गतका कसुर गरेको आरोप लगाएको जनाएको छ।
यसअघि उनीहरूविरुद्ध विदेशी विनिमय अपचलन गरी कारोबार गरेको आरोपमा ६२ करोड ६५ लाख ९१ हजार ८ सय ९३ रुपैयाँ बिगो कायम गरी १४ असोज २०८१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणसँग सम्बन्धित सम्पत्तिको अनुसन्धानका क्रममा उनीहरूले अवैध रूपमा आर्जित सम्पत्ति लुकाउने तथा शुद्धीकरण गर्ने कार्य गरेको पुष्टि भएपछि थप मुद्दा दायर गरिएको विभागले जनाएको छ।