काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।
वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले सरकारको लक्ष्यभन्दा यस वर्ष पनि कम वृद्धि हुने संकेत गरेको हो।
कार्यालयका अनुसार चालु वर्षको सुरुवाती त्रैमासमा देखिएको अवरोध तथा वैदेशिक र आन्तरिक आर्थिक कारणका कारण समग्र वृद्धिदर प्रभावित भएको हो। क्षेत्रगत रूपमा हेर्दा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित रहने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको वृद्धिदर ४.५४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
यसैबीच, चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो।
क्षेत्रगत आर्थिक वृद्धिदर
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विभिन्न क्षेत्रको अनुमानित वृद्धिदर यसप्रकार छः
विद्युत तथा ग्यास: २०.९३%
वित्तीय तथा बीमा सेवा: ९.१६%
थोक तथा खुद्रा व्यापार: ८.२१%
आवास तथा भोजन सेवा (होटल/रेस्टुरेन्ट): ७.१२%
यातायात तथा भण्डारण: ५.७९%
सूचना तथा सञ्चार: ५.५३%
प्रशासनिक तथा सहयोगी सेवा: ४.५२%
स्वास्थ्य तथा सामाजिक कार्य: ४.०४%
खानी तथा उत्खनन: ३.५२%
पेशागत, वैज्ञानिक तथा प्राविधिक सेवा: ३.२७%
उद्योग: २.८३%
घरजग्गा कारोबार: २.६९%
अन्य सेवा: २.६५%
निर्माण: २.३१%
पानी आपूर्ति तथा सरसफाइ: १.९९%
शिक्षा: १.५०%
कृषि, वन तथा मत्स्य: १.२८%
सार्वजनिक प्रशासन तथा रक्षा: ०.२३%
उच्च वृद्धिदर देखिएको क्षेत्रहरूमा विद्युत तथा ग्यास अग्रस्थानमा रहेको छ भने सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र सबैभन्दा न्यून वृद्धि हुने अनुमान गरिएको छ।
समग्रमा, आर्थिक गतिविधिमा देखिएको सुस्तता र बाह्य चुनौतीका कारण अपेक्षाकृत न्यून आर्थिक वृद्धि हुने प्रक्षेपणले अर्थतन्त्रमा दबाब कायम रहने संकेत गरेको छ।