२०८३ भाद्र २८ आइतबार

जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो, १ खर्ब ४० अर्बभन्दा बढी बीमा शुल्क आर्जन

ई आर्थिक    बिहिबार, बैशाख १० २०८३
2.2K
Shares
जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले बढ्यो, १ खर्ब ४० अर्बभन्दा बढी बीमा शुल्क आर्जन

काठमाडौं ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूले आफ्नो व्यवसाय उल्लेख्य रूपमा विस्तार गरेका छन्। यस अवधिमा कुल जीवन बीमा व्यवसाय ११.३१ प्रतिशतले वृद्धि भएको देखिएको छ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आर्जन १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ रहेको थियो।

बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ३६ अर्ब ८६ करोड रुपैयाँ आर्जन गर्दै ११.६४ प्रतिशत वृद्धि हासिल गरेको छ। दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले ९.२० प्रतिशत वृद्धि गर्दै १७ अर्ब ७ करोड रुपैयाँ पुर्‍याएको छ। एलआइसी नेपाल ले ८.०८ प्रतिशत वृद्धि सहित १५ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ।

त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय ५.३१ प्रतिशतले बढेर १३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले ११.७० प्रतिशत वृद्धि गर्दै ९ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले ११.६७ प्रतिशत वृद्धि सहित ८ अर्ब ५५ करोड रुपैयाँ पुर्‍याएको छ।

एशियन लाइफ इन्स्योरेन्सले १२.११ प्रतिशत वृद्धि गर्दै ७ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ भने सिटिजन्स लाइफ इन्स्योरेन्स ले १९.२६ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ६ करोड रुपैयाँ पुर्‍याएको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स ले ११.९२ प्रतिशत वृद्धि गर्दै ५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ।

वृद्धिदरका हिसाबले आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ, जसले ३१.२३ प्रतिशत वृद्धि दरसहित ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै मेट लाइफ ले १० प्रतिशत वृद्धि गर्दै ४ अर्ब ९० करोड रुपैयाँ पुर्‍याएको छ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले २० प्रतिशत वृद्धि गर्दै ४ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ले १४ प्रतिशत वृद्धि सहित ४ अर्ब १९ करोड रुपैयाँ पुर्‍याएको छ। सन नेपाल लाइफ इन्स्योरेन्स ले २.८० प्रतिशत वृद्धि गर्दै ३ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij