काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधार गरेर सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग संवाद गर्दै उहाँले प्रभावकारी योजना निर्माण र नीतिगत अनुसन्धान बिना सरकारको सेवा प्रवाह सुदृढ हुन नसक्ने स्पष्ट पार्नुभयो। “यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठूलो सहयोग पुग्नेछ,” उहाँले भन्नुभयो।
नीति अनुसन्धान प्रतिष्ठानको भूमिकाबारे उल्लेख गर्दै प्रधानमन्त्री शाहले विषय विज्ञ र अनुसन्धानकर्ताको योगदान अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। “हामीलाई यस्तो विज्ञता चाहिएको हो, जसले गहिरो अध्ययन र दूरदर्शी सोच प्रस्तुत गर्न सकोस्,” उहाँले भन्नुभयो, “सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ।”
उहाँले कुनै पनि बहानाबाजी नगरी नतिजामुखी काम गर्न निर्देशन दिँदै ठोस योजना र प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। मन्त्रालयहरूबीच समन्वय अभाव रहेको तर्क अस्वीकार्य भएको उल्लेख गर्दै एउटै सरकार मातहत यस्तो समस्या हुन नहुने बताउनुभयो। साथै बजेट वा कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न चेतावनी दिनुभयो।

कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले विज्ञहरूको ज्ञानलाई नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न निर्देशन दिँदै स्पष्ट लक्ष्य, पर्याप्त बजेट र मापनयोग्य परिणामसहितका प्रस्ताव ल्याउनुपर्नेमा जोड दिनुभयो।
अर्थमन्त्री वाग्लेले संस्थागत संरचना सुदृढ गर्ने, अप्रासंगिक प्रावधान हटाउने तथा आवश्यकताअनुसार नयाँ नीति विकास गर्ने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। साथै नवप्रवर्तनात्मक कार्यक्रमहरू ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि विस्तार गर्ने रणनीतिबारे पनि चर्चा गर्नुभयो।
छलफलका क्रममा आयोगका पदाधिकारीहरूले आफ्नो कार्य प्रगति, चुनौती र बजेट अवस्थाबारे जानकारी गराएका थिए। प्रतिष्ठानका कर्मचारीहरूले अध्ययन–अनुसन्धानलाई अझ प्रभावकारी बनाउन थप जनशक्ति र स्रोतसाधन आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादले आफूहरूलाई थप ऊर्जा र प्रेरणा मिलेको उनीहरूको भनाइ छ।