काठमाडौँ । आजदेखि विक्रम संवत् २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई देशभर उत्साह, उमङ्ग र नयाँ सुरुआतका रूपमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदैछ।
वैशाख १ गतेलाई नेपाली नयाँ वर्षका रूपमा लिइन्छ। आज वर्षको पहिलो दिन देशभरका नागरिकले एकआपसमा शुभकामना साटासाट गर्दै नयाँ वर्षको स्वागत गरेका छन्।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन भएकाले आजलाई मेष सङ्क्रान्ति वा वैशाख सङ्क्रान्तिका रूपमा पनि मनाइन्छ। ज्योतिषीय मान्यताअनुसार सूर्यको गतिसँग सम्बन्धित भएकाले विक्रम संवत् शाश्वत मानिन्छ।
नयाँ वर्षको अवसरमा मानिसहरूले गत वर्षका उपलब्धि र कमजोरीहरूको मूल्याङ्कन गरी आगामी दिनका लागि नयाँ योजना र सङ्कल्प गर्ने परम्परा रहिआएको छ। आज बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने तथा आफन्त र साथीभाइसँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्ने चलन छ।
विश्वभर रहेका नेपालीहरूले पनि वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा उत्साहपूर्वक मनाइरहेका छन्। भक्तपुरमा आज बिस्का जात्रा विशेष रूपमा आयोजना गरिन्छ भने तराई क्षेत्रमा सहलेश फूल फूल्ने भएकाले यस दिनको छुट्टै सांस्कृतिक महत्व रहेको छ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै देशको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन्।