काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवन प्रयोग गरिरहेका तर भाडा नबुझाएका व्यक्ति तथा संस्थाहरूको ठूलो बक्यौता देखिएको छ।
विभिन्न स्टलहरुबाट करिब ७ करोड ७९ लाख ५६ हजार रुपैयाँ उठान बाँकी छ ।
परिषद्ले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न सामाजिक संस्था, मिडिया हाउस, क्लब तथा व्यावसायिक प्रयोजनका लागि स्टल प्रयोग गरिरहेका पक्षहरूले २०८२ साल चैतसम्म उल्लेखनीय रकम बक्यौता राखेका छन्।
उपभोक्ता मंच नेपाल (स्टल नं. १ र २) ले रु. ४५ लाख ५७ हजार ९०७ भन्दा बढी बक्यौता राखेको छ भने लोकतान्त्रिक सहिद तथा घाइते समाज (स्टल नं. ६) को करिब रु. १४ लाख ६१ हजार बक्यौता देखिएको छ। त्यसैगरी नेपाल पत्रकार महासंघ (स्टल नं. ७) र रिपोर्टर्स क्लब नेपाल (स्टल नं. २२) जस्ता मिडिया संस्थाहरूले पनि लाखौं रुपैयाँ तिर्न बाँकी राखेका छन्।
इभेन्ट कम्पनी सेन्थेसिस एक्जिविसन एण्ड ईभेन्टस् तथा अन्य निजी व्यवसायीहरू—जस्तै मनकला श्रेष्ठ (स्टल नं. १२) र टिकाराम सिटौला (स्टल नं. १३)—ले समेत उल्लेख्य बक्यौता तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ।
खाजा पसल सञ्चालन गर्नेहरूमा पनि बक्यौता उच्च देखिएको छ। यशोदा कुमारी सेठी, हरि अमात्य, नारायण कुमारी निरौला, बुद्धिराम भुसाल, मन्जु तिमिल्सिना र चित्रबहादुर पण्डित क्षेत्री लगायतले लाखौं रुपैयाँ भाडा तिर्न बाँकी राखेका छन्।
त्यस्तै, नेपाल फोटो पत्रकार महासंघ (स्टल नं. ५८), नेपाल राष्ट्रिय मानव अधिकार संरक्षण मञ्च (स्टल नं. ६६), काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज (स्टल नं. ३४ र ६८), राष्ट्रिय अपाङ्ग महासंघ (स्टल नं. ७३) तथा बालबालिकाका निम्ति गैरसरकारी संस्थाहरूको महासंघ नेपाल (स्टल नं. ७४) जस्ता संस्थाहरूको पनि ठूलो रकम बक्यौता रहेको छ।
विशेषगरी काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाज र बालबालिकासम्बन्धी संस्थाहरूको महासंघले करोडौं रुपैयाँसम्म बक्यौता राखेको देखिएको छ।
समाज कल्याण परिषद्ले समयमै भाडा बुझाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। बक्यौता नतिर्नेहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।
