काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरुलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी प्रस्तुती दिएको छ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रस्तुतीकरणमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रीहरूलाई विस्तृत जानकारी दिनुभएको थियो। प्रस्तुतीमा उहाँले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित प्रवद्र्धन, र नेपालको समग्र परराष्ट्र नीतिका विषयमा विशेष रूपमा प्रकाश पार्नुभयो।
सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमा, कूटनीतिक मर्यादा र विदेशी पदाधिकारीहरूसँग भेटवार्तामा पालना गर्नुपर्ने सामान्य शिष्टाचारको विषयमा सूक्ष्म विवरण प्रस्तुत गर्नुभयो।
यस क्रममा मन्त्रीहरूले नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षहरूबारे जानकारी प्राप्त गर्दै आचारसंहिताको अनिवार्य पालनामा जोड दिइएको जनाइएको छ।