गौशाला (महोत्तरी): महोत्तरीको बर्दिबास उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ। आगामी चैत २४ गते हुने निर्वाचनमा दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ।
निर्वाचनमा दीपक कार्की नेतृत्वको प्यानल ‘डमरु’ चुनाव चिन्हसहित मैदानमा उत्रिएको छ भने उत्तमकुमार श्रेष्ठ नेतृत्वको प्यानल ‘कलश’ चिन्हसहित प्रतिस्पर्धामा रहेको छ। दुवै प्यानलले आ–आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन्, जसले उद्योगी तथा व्यवसायीहरूबीच चासो र उत्सुकता बढाएको छ।
निर्वाचन समितिका अनुसार मतदान प्रक्रिया निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गरिनेछ। समितिले निर्वाचन शान्तिपूर्ण र पारदर्शी हुने विश्वास व्यक्त गरेको छ।
दीपक कार्की प्यानलले ‘सानो लगानी, ठुलो सम्मान’ नारासहित व्यवसायीहरूको वर्गीकरण, घरभाडा तथा करसम्बन्धी समस्या समाधान र बजार व्यवस्थापनलाई प्राथमिकता दिएको छ। यससँगै व्यवस्थित पार्किङ, फुटपाथ तथा ढल निकास सुधार, सार्वजनिक शौचालय निर्माण जस्ता पूर्वाधार विकासका योजना अघि सारेको छ।
उक्त प्यानलले पर्यटन प्रवर्द्धनका लागि रात्रिकालीन बजार सञ्चालन, आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका कार्यक्रम, कानुनी परामर्श डेस्क स्थापना तथा स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यता उत्तमकुमार श्रेष्ठ प्यानलले वित्तीय पहुँच विस्तार, सहुलियतपूर्ण कर्जा व्यवस्था र व्यवसायी पलायन रोकथामलाई मुख्य एजेन्डा बनाएको छ। यस प्यानलले संघलाई प्रविधिमैत्री बनाउँदै डिजिटल सेवा विस्तार गर्ने, सदस्यहरूको सुरक्षा बीमा योजना लागू गर्ने र बर्दिबासलाई कृषि तथा व्यापारिक हबको रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
श्रेष्ठ प्यानलले ‘उज्यालो बर्दिबास’ अभियानमार्फत सीसीटीभी जडान गरी सुरक्षित व्यापारिक वातावरण निर्माण गर्ने, स्थायी प्रदर्शनी स्थल र रात्रिकालीन बजार सञ्चालन गर्ने योजना पनि अघि सारेको छ। साथै युवा स्वरोजगार प्रवर्द्धन, पर्यटन तथा सम्पदा संरक्षण, औद्योगिक ग्राम निर्माण र ‘व्यवसायी कल्याणकारी अक्षयकोष’ स्थापना गर्ने प्रतिबद्धता जनाएको छ।
अध्यक्ष, उपाध्यक्षसहित ८ पदाधिकारी र ११ सदस्य गरी कुल १९ सदस्यीय कार्यसमिति चयनका लागि हुने यस निर्वाचनमा दुवै प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
अब व्यवसायी मतदाताको निर्णयले बर्दिबास उद्योग वाणिज्य संघको आगामी नेतृत्व कसको हातमा पुग्ने भन्ने टुंगो लाग्नेछ।