काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन सातवटा उपसमिति गठन गरेको छ। पार्टीको स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिको बैठकले विभिन्न जिम्मेवारीसहित उपसमिति गठन गर्ने निर्णय गरेको हो।
पार्टीका महामन्त्री एवं उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियाका विभिन्न पक्षमा निर्णय गरेको हो।
बैठकले उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी बनाउन क्यान्डिडेट क्लब, प्रविधि, गुनासो समन्वय, समावेशिता तथा महिला सहभागिता, क्षमता विकास समन्वय, व्यवस्थापन र प्रचारप्रसार उपसमिति गठन गरेको छ।
गठित उपसमितिहरूमध्ये क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक, गुनासो समन्वय उपसमितिको संयोजकमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागिता उपसमितिको संयोजकमा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, क्षमता विकास समन्वय उपसमितिको संयोजकमा टासी ल्हाजोम, व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको संयोजकमा मिलन लिम्बू चयन भएका छन्।
बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूका लागि आवेदन खुला गर्ने निर्णयसमेत गरेको छ। इच्छुक उम्मेदवारले पार्टीको क्यान्डिडेट क्लबमार्फत आवेदन दिन सक्नेछन्।
पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा कार्यान्वयन तथा समन्वयलाई व्यवस्थित बनाउन उपसमितिहरूमार्फत विभिन्न जिम्मेवारी अघि बढाउने जनाएको छ।