काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यापारी दीपक भट्ट पक्राउ परेसँगै उनका व्यावसायिक साझेदार तथा शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ परेका छन्। सुलभ, यसअघि पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालका छोरा हुन्।
प्रहरीका अनुसार भट्टसँगको सम्बन्धका आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा सुलभमाथि पनि शंका गरिएको हो। बाबु शंकर अग्रवाललाई नियन्त्रणमा लिएपछि सुलभ भारततर्फ गएको बताइएको थियो। पछि प्रहरीले उनलाई ह्वाट्सएपमार्फत सम्पर्क गरी नेपाल फर्कन आग्रह गरेको र भैरहवा आइपुगेलगत्तै नियन्त्रणमा लिइएको जनाइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभलाई नियन्त्रणमा लिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुलभले भट्टसँग मिलेर गैरकानुनी आर्थिक गतिविधि सञ्चालन गरेको आशंका गरिएको छ।
यसअघि पनि सुलभ अग्रवाल २०७६ चैत २५ मा कालोबजारीको आरोपमा पक्राउ परेका थिए। त्यतिबेला उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका थिए। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई नक्सालबाट ६७ थान थर्मलगनसहित पक्राउ गरेको थियो।
उनीमाथि प्रतिगोटा ३,००० रुपैयाँ पर्ने थर्मलगन १५,००० रुपैयाँमा बिक्री गरेको आरोप लागेको थियो। पक्राउ पर्दा उनी किर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत रहेका थिए र कूटनीतिक नम्बर प्लेट भएको सवारीसाधनसहित नियन्त्रणमा लिइएको थियो।
प्रकरणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।