२०८३ साउन ११ सोमबार

दार्चुलामा सिँचाइ सुविधा विस्तार, ५२ प्रतिशत कृषियोग्य जमिन पहुँचमा

ई आर्थिक    शुक्रबार, चैत्र १३ २०८२
2.2K
Shares
दार्चुलामा सिँचाइ सुविधा विस्तार, ५२ प्रतिशत कृषियोग्य जमिन पहुँचमा

खलङ्गा, दार्चुला : सुदूरपश्चिम प्रदेश अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर सिँचाइ सुविधा विस्तारमा उल्लेखनीय प्रगति गरेको छ।

कार्यालयका अनुसार, पोखरी, कुलो, नहर निर्माण तथा खोला किनारमा तटबन्ध निर्माण गर्दै कृषियोग्य जमिन संरक्षण र सिँचाइ विस्तारको काम भइरहेको छ। चालु आवमा मात्रै थप १०५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको छ।

यसअघि ९ हजार ४९२ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेकोमा हाल यो क्षेत्रफल बढेर ९ हजार ५९७ हेक्टर पुगेको छ, जुन जिल्लाको कुल कृषियोग्य जमिनको करिब ५२ प्रतिशत हो।

सूचना अधिकारी मदनबहादुर भण्डारीका अनुसार, जिल्लामा कुल २९ हजार ५४४ हेक्टर खेतीयोग्य जमिन रहेको छ। हाल सिँचाइ पहुँचमा पुगेको क्षेत्रमध्ये ८ हजार ६९६ हेक्टरमा कुलोमार्फत र ७९६ हेक्टरमा पोखरीमार्फत सिँचाइ भइरहेको छ।

जिल्लाका सबै नौ स्थानीय तहमा सिँचाइ संरचना निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। यस आर्थिक वर्षमा डिभिजन कार्यालयअन्तर्गत ५०३ नयाँ योजना सञ्चालनमा रहेकामा हालसम्म १०३ योजना सम्पन्न भइसकेका छन्।

दार्चुलाको कुल जनसंख्या १ लाख ३३ हजार ३१० रहेको छ, जसमध्ये करिब ८४ प्रतिशत नागरिक कृषि पेशामा निर्भर छन्। महाकाली, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा तरकारी तथा नगदेबाली उत्पादन बढी हुने गरेको छ भने अन्य क्षेत्रहरूमा मकै, धान, गहुँ, कोदो, फापर, सिमी, जौँ लगायतका खाद्यबाली उत्पादन हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij