२०८३ साउन १० आइतबार

कोभिडपछि बन्द भएको ‘वाटर पार्क’ सञ्चालनमा आयो

ई आर्थिक    बिहिबार, चैत्र १२ २०८२
931
Shares
कोभिडपछि बन्द भएको ‘वाटर पार्क’ सञ्चालनमा आयो

झापा । कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक संकटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ।

स्थानीय उद्यमी राजकुमार संग्रौलाको ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा सात वर्षअघि पार्क स्थापना गरिएको थियो। पार्कमा मनोरञ्जनका लागि जिपलाइन, ‘वेभ’पुल, पौडी खेल्न ‘स्विमिङ’ पुल, बच्चाका लागि किड्स पुल, ‘वाटर एक्टिभिटी स्टेसन’, कृत्रिम गुफा, आकर्षक मूर्तिकलालगायत संरचनाहरू छन्।

‘अहिले ती सबै संरचना पुनः सञ्चालनमा ल्याएका छौँ,’ पार्कका सञ्चालक संग्रौलाले भने, ‘पर्यटकीय विकासको सम्भावना देखेर लगानी गरेका थियौँ। कोरोना महामारीपछिको अवस्थाले बन्द गर्नुपरेको थियो। फेरि नयाँ व्यवस्थापन, सोच र आँटसहित पार्कलाई सञ्चालनमा ल्याएका छौँ। यसले स्थानीयको आर्थिकस्तर सुधार गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योष्दान पुर्‍याउने विश्वास लिएका छौँ।’

संग्रौलाका अनुसार तीन बिघा क्षेत्रफलमा फैलिएको यस पार्कमा पर्यटकीय आवास र रेस्टुरेन्टका लागि सातवटा भूकम्प प्रतिरोधात्मक भवन, दुईवटा सुविधा सम्पन्न रेस्टुरेन्ट, ३५ वटा आधुनिक आवासीय कोठा र १५० देखि ४०० जनासम्म अट्ने चारवटा सभाहल छन्।

‘कोरोना महामारीपछि मुलुकका कतिपय व्यवसाय बन्द भए भने कतिपय पलायन भएका छन्। हामी हार नमानी पुनरुत्थानमा लागेका छौँ,’ उनले भने।

पार्कमा परिवारसहित आएका इलामका सुमन धितालले यहाँको भौतिक संरचना र सेवा पर्यटकमैत्री रहेको जनाउँदै बालबालिकाको मनोरञ्जनका लागि उत्कृष्ट गन्तव्यका रूपमा रहेको धारणा राखे। यहाँका जिपलाइन र बुद्धको प्रतिमाले मन लोभ्याएको उनले बताए।

स्थानीय पत्रकार विनोद सापकोटाले निजी लगानीमा कोसी प्रदेशकै ठूलो परियोजना पुनः सञ्चालनमा आउनुले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। पार्कको स्थापनाबाट स्थानीय क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो योगदान पुग्ने बताउँदै उनले यसबाट रोजगारी सिर्जना हुने उल्लेख गरे।

सञ्चालक संग्रौलाले आगामी वैशाखसम्ममा ३ करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको बताए। पार्कमा झापा, मोरङ, इलाम जिल्लाका स्थानीय पर्यटकका साथै भारतका विभिन्न स्थानबाट बाह्य पर्यटकसमेत आउने गरेका उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij