काठमाडौं । प्रख्यात अर्थविद् केशव आचार्यको सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको छ। उनका भाइ मदन आचार्यका अनुसार ७२ वर्षीय आचार्यको बिहान ९:५५ बजे निधन भएको हो।
आचार्यलाई केही दिनअघि मस्तिष्कघात भएको थियो। उनका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उनको अन्त्येष्टि भोलि पशुपति आर्यघाटमा गरिने जानकारी परिवारले दिएको छ।
केशव आचार्य नेपाली आर्थिक क्षेत्रका एक प्रभावशाली र सम्मानित व्यक्तित्वका रूपमा चिनिन्थे। उनले नेपाल राष्ट्र बैंकमा तीन दशकभन्दा बढी समय सेवा दिँदै कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
त्यस्तै, उनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा समेत कार्य अनुभव हासिल गरेका थिए भने अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकारका रूपमा पनि योगदान दिएका थिए।
आर्थिक नीति निर्माण, बजेट विश्लेषण तथा वित्तीय क्षेत्र सुधारका क्षेत्रमा उनको महत्वपूर्ण भूमिका रहेको मानिन्छ। अवकाशपछि पनि उनी आर्थिक सुशासन, मौद्रिक नीति र वित्तीय प्रणालीका विषयमा सक्रिय रूपमा टिप्पणी र विश्लेषण गर्दै आएका थिए।
विशेषगरी मौद्रिक नीति र वित्तीय प्रणालीका जानकारका रूपमा चिनिएका आचार्य स्पष्ट धारणा राख्ने र समालोचनात्मक टिप्पणी गर्ने अर्थविद्का रूपमा परिचित थिए।