काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोवल मनी विक –२०२६’ सफलतापूर्वक सम्पन्न गरेको छ। “बचत गर्ने बानी” भन्ने मूल नाराका साथ सञ्चालित उक्त कार्यक्रम चैत २ गतेदेखि सुरु भई चैत ८ गते सम्पन्न भएको हो।
बैंकले देशभरका सातै प्रदेशमा रहेका आफ्ना २०० भन्दा बढी शाखामार्फत साताव्यापी रूपमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यस क्रममा बालबालिका, युवा, महिला तथा समुदाय लक्षित कार्यक्रम, विद्यालय तथा कलेजहरूमा प्रशिक्षण, साथै प्रभातफेरी जस्ता गतिविधि आयोजना गरिएको थियो।
कार्यक्रम अन्तर्गत आधुनिक बैंकिङ सेवा, बचतको महत्व, ऋण तथा लगानीका आधारभूत पक्ष, विद्युतीय बैंकिङ (डिजिटल सेवा) प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ। साथै बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि वित्तीय सचेतना फैलाउने काम गर्दै आएको छ।

बैंकले अज्ञात स्रोतबाट प्राप्त लिंक नखोल्न, संवेदनशील व्यक्तिगत विवरण अरूसँग साझेदारी नगर्न र डिजिटल ठगीबाट सुरक्षित रहन विशेष आग्रह गरेको छ। यी सबै कार्यक्रमहरू संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको जनाइएको छ।
प्रदेशगत रूपमा कार्यक्रम सञ्चालन भएका शाखाहरू यस प्रकार रहेका छन्: वाग्मती प्रदेशमा ४७ शाखा, गण्डकी प्रदेशमा ५२ शाखा, लुम्बिनी प्रदेशमा १६ शाखा, कोशी प्रदेशमा ३९ शाखा, मधेश प्रदेशमा २९ शाखा, कर्णाली प्रदेशमा १४ शाखा र सुदूरपश्चिम प्रदेशमा १९ शाखा।
हाल बैंकले देशभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ विस्तारित सेवा काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। “विश्वास लिन्छौं, विश्वास दिन्छौं” भन्ने मूल नाराका साथ अत्याधुनिक प्रविधि प्रयोग गरी गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउँदै बैंक प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको जनाएको छ।