काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा गएको बजार अनुगमन टोलीले उद्योगको डिपोमा १४.२ केजीका ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर स्टोर गरेर राखिएको पाएको हो। अनुगमनका क्रममा उद्योगले ठूलो संख्यामा सिलिन्डर डिपोमा थुपारेर राखेको तर बजारमा पठाउन आनाकानी गरेको देखिएको विभागले जनाएको छ।
उपभोक्तालाई मर्का पर्ने गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको ठहर गर्दै विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ अनुसार ‘अनुचित व्यापारिक क्रियाकलाप’ गरेको कसुरमा उद्योगलाई सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम ३ लाख रुपैयाँ जरिबाना गरेको छ।
विभागले जरिबाना मात्र नगरी डिपोमा मौज्दात अवस्थामा रहेका सबै ६ हजार ३ सय ७७ वटा सिलिन्डर नेपाल आयल निगमको समन्वयमा तत्काल बजारमा बिक्री वितरण गर्न निर्देशन पनि दिएको छ।

विभागका महानिर्देशक रोशन ज्ञवालीका अनुसार बजारमा ग्यास अभावका कारण सर्वसाधारण घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहँदा ठूलो परिमाणमा ग्यास स्टक राखेर बजारमा नपठाउनु स्पष्ट रूपमा कृत्रिम अभाव सिर्जना गर्ने प्रयास हो। उनले यो कारबाहीको उद्देश्य सजाय मात्र नभई बजारमा लुकाइएको ग्यास बाहिर ल्याउनु र अन्य उद्योगलाई पनि सचेत गराउनु रहेको बताए।
उनका अनुसार बजारमा ग्यास नपाएर सर्वसाधारणले सास्ती भोगिरहेका बेला ठूलो मात्रामा ग्यास होल्ड गरेर राख्नु गैरकानुनी कार्य हो। विभागले अन्य ग्यास उद्योगहरूमाथि पनि निगरानी बढाइएको र कालोबजारी वा ग्यास होल्डिङ गरेको पाइएमा कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
यता, श्रीराम ग्यास उद्योगका व्यवस्थापन परामर्शदाता डिल्ली ढकालले भने ग्यास स्टक हुनुमा उद्योगको गल्ती नभई प्राविधिक र नीतिगत कारण रहेको दाबी गरेका छन्।
उनका अनुसार डिपोमा सामान्यतया दुई–तीन दिनका लागि पुग्ने ग्यास मौज्दात राख्ने प्रचलन हुन्छ। हाल देखिएका ६ हजार ३ सय ७७ वटा सिलिन्डर भने नेपाल आयल निगमले आधा सिलिन्डर (७.१ केजी) मात्र बिक्री गर्ने निर्णय गर्नुअघि नै भरिसकिएका थिए।
ढकालका अनुसार सरकारले २८ फागुनमा आधा सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेपछि पूरा भरिएका सिलिन्डर बिक्री गर्न रोक लगाइयो। “यी सिलिन्डरहरू निर्णय हुनुभन्दा अगाडि नै धादिङस्थित उद्योगबाट भरिएर आएका थिए। नयाँ नियम लागू भएपछि पूरा भरिएका सिलिन्डर बेच्न नपाएर डिपोमा थन्किएका हुन्,” उनले भने।
नेपाल आयल निगमले निर्णय गरेपछि उद्योगले आइतबार मात्र निगमलाई पत्र लेखेर पूरा भरिएका सिलिन्डर मौज्दात रहेको जानकारी गराएको जनाएको छ।