काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोमबार बिहान भएको ड्रोन आक्रमणपछि इन्धन भण्डारण ट्याङ्कीमा भीषण आगलागी भएको छ। घटनापछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले विमानस्थलको उडान सेवा अस्थायी रूपमा स्थगित गरेका छन्।
ड्रोन प्रहार लगत्तै ठूलो आवाजसहित आगोको लप्का देखिएपछि विमानस्थल क्षेत्रका यात्रु तथा कर्मचारीहरूमा केहीबेर त्रास फैलिएको थियो।
दुबई मिडिया अफिसका अनुसार आक्रमणपछि नागरिक रक्षा टोलीहरू तत्काल घटनास्थलमा खटिएर आगलागी नियन्त्रणमा लिएका छन्। मिडिया अफिसले जारी गरेको विज्ञप्तिमा ड्रोन आक्रमणका कारण विमानस्थल नजिक रहेको इन्धन ट्याङ्कीमा क्षति पुगेको उल्लेख गरिएको छ।
अधिकारीहरूका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। घटनामा हालसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन।
दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल कर्मचारीहरूको सुरक्षालाई प्राथमिकता दिँदै सावधानीस्वरूप उडान सेवा अस्थायी रूपमा निलम्बन गरिएको जनाएको छ। उडान सेवा कहिलेदेखि पुनः सञ्चालनमा आउने भन्नेबारे भने प्राविधिक तथा सुरक्षा जाँचपछि मात्रै निर्णय गरिने बताइएको छ।
विमानस्थल बन्द भएपछि दुबई आउने र यहाँबाट बाहिरिने सयौँ उडानहरू प्रभावित भएका छन्।
यस आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। अधिकारीहरूले ड्रोन आक्रमणको प्रकृति तथा स्रोतबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएका छन्।