काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गर्दै देशका धेरै जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ । हालसम्म प्राप्त विवरणअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२४ स्थानमा जित हासिल गरेको छ भने १ क्षेत्रमा अग्रता कायम गरेको बताइएको छ।
रास्वपाले पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा सबै निर्वाचन क्षेत्र जित्दै क्लिन स्वीप गरेको उल्लेख गरिएको छ। झापाका ५ वटै, मोरङका ६ वटै, उदयपुरका २ वटै तथा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साका ४–४ वटा निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको जनाइएको छ।
यसैगरी सिन्धुलीका २ वटै, दोलखाको १, ललितपुरका ३ वटै, भक्तपुरका २ वटै तथा काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले जित हात पारेको दाबी गरिएको छ। धादिङ, मकवानपुर, चितवन, तनहुँ, कास्की, नवलपरासी पूर्व, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, नवलपरासी पश्चिम, कैलाली र कञ्चनपुरलगायत जिल्लामा पनि सबै क्षेत्र जित्दै पार्टीले प्रभावशाली प्रदर्शन गरेको बताइएको छ।
त्यस्तै लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, डडेल्धुरा र बैतडीका एक–एक क्षेत्रमा पनि रास्वपा विजयी भएको उल्लेख गरिएको छ। काभ्रेपलाञ्चोक, स्याङ्जा, नुवाकोट र गोरखामा समेत पार्टीले अधिकांश क्षेत्र जितेको दाबी गरिएको छ।
गोरखा जिल्लाका दुई क्षेत्रमा रास्वपा विजयी भइसकेको र गोरखा–१ मा पनि अग्रता कायम रहेकाले त्यहाँ पनि जित सुनिश्चित हुने दाबी गरिएको छ।
देशभर जारी मतगणनामा रास्वपाले प्राप्त गरेको यो सफलता नेपाली राजनीतिमा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ। निर्वाचन आयोगले भने अन्तिम परिणाम सार्वजनिक गरेपछि मात्र आधिकारिक विवरण स्पष्ट हुने जनाएको छ।