२०८३ भाद्र २९ सोमबार

रास्वपाको बारामा ‘क्लिन स्वीप’, चारै प्रतिनिधिसभा क्षेत्रमा भारी मतान्तरसहित विजयी

ई आर्थिक    आइतबार, फाल्गुन २४ २०८२
1.9K
Shares
रास्वपाको बारामा ‘क्लिन स्वीप’, चारै प्रतिनिधिसभा क्षेत्रमा भारी मतान्तरसहित विजयी

बारा : बाराका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू भारी मतान्तरसहित विजयी भएका छन्। निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा रास्वपाका उम्मेदवारहरूले प्रतिस्पर्धी दलका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।

निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका गणेश धिमाल ३९ हजार ९ सय ९८ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीले १४ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत ल्याएका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका चन्दनकुमार सिंह ३५ हजार ५९० मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामकिशोरप्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका भैयारामप्रसाद यादवले ११ हजार ८३७ मत ल्याउँदा एमालेका बलवीरप्रसाद चौधरीले ७ हजार २१३ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका अरविन्द साह ४० हजार ६ सय ९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। जसपा नेपालका रामबाबुकुमार यादवले ६ हजार ८ सय ८४, एमालेकी ज्वालाकुमारी साहले ५ हजार २ सय ७१, जनमत पार्टीका प्रमोद गुप्ताले ३ हजार ८ सय १९ तथा नेपाल कम्युनिष्ट पार्टीका भरतप्रसाद साहले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा रास्वपाका रहवर अंसारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। उनले नेकपा (एमाले) का किसान श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १ सय २३ मत प्राप्त गरेका छन्।

यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ र उपनिर्वाचन २०८० मा बाराका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र ३ मा एमाले, क्षेत्र नम्बर २ मा जसपा तथा क्षेत्र नम्बर ४ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij