काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर करिब ४५ प्रतिशत मतदान भएको छ। निर्वाचनसम्बन्धी अद्यावधिक विवरणअनुसार कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
मतदानको अवस्थालाई हेर्दा काठमाडौँ उपत्यकामा मतदाताको सक्रियता तुलनात्मक रूपमा बढी देखिएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म करिब ५४ प्रतिशत मत खसिसकेको तथ्याङ्कले देखाउँछ।
प्रदेशगत रूपमा गण्डकी र कर्णाली प्रदेशमा मतदानको दर सबैभन्दा बढी रहेको छ। यी दुवै प्रदेशमा हालसम्म करिब ४८ प्रतिशत मत खसेको छ। यता मधेस प्रदेशमा भने मतदानको दर सबैभन्दा कम देखिएको छ, जहाँ ३२ निर्वाचन क्षेत्रमा करिब ३७ प्रतिशत मत मात्र खसेको उल्लेख गरिएको छ।
त्यसैगरी बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मत खसेको छ भने कोशी प्रदेशमा करिब ४६ प्रतिशत मतदान भएको छ। सुदूरपश्चिम प्रदेशमा भने मधेसपछि दोस्रो कम मतदान भएको छ, जहाँ करिब ३९ प्रतिशत मत खसेको जनाइएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा रहेका १० हजार ९ सय ६७ मतदानस्थलमा बिहानैदेखि मतदान जारी छ। मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि धेरै स्थानमा मतदाताहरू लाइनमा रहेकाले अन्तिम समयसम्म मतदानको प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।