काठमाडौँ। गृह मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका ७७ वटै जिल्लामा सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
बुधबार मन्त्रालयमा आयोजित भर्चुअल बैठक (जुम मिटिङ) मार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचनको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीबारे विस्तृत समीक्षा गरिएको हो। बैठक राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
करिब तीन घण्टा चलेको बैठकमा निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार सबै जिल्लाबाट निर्वाचनको आवश्यक तयारी पूरा भएको तथा सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको छ।
बैठकमा जिल्लागत तयारी, विद्यमान सुरक्षा अवस्था, मतदानका दिन अपनाउनुपर्ने सतर्कता र केन्द्रबाट आवश्यक समन्वयका विषयमा पनि छलफल गरिएको थियो। साथै शान्ति–सुरक्षालाई थप सुदृढ बनाउँदै निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने समझदारी बनेको जनाइएको छ।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ प्रभावकारी बनाउन आवश्यक निर्देशन दिँदै सबै संयन्त्रलाई उच्च सतर्कतामा रहन आग्रह गर्नुभएको छ। जिल्लाबाट प्राप्त जानकारीअनुसार आवश्यक कर्मचारी, सुरक्षा निकाय र निर्वाचन सामग्री सम्बन्धित मतदान स्थलमा पुगिसकेको बताइएको छ।