मोरङ । मोरङमा मतदातालाई नगद वितरण गरिरहेको आरोपमा नेपाली कांग्रेससँग सम्बद्ध तीन जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी रकम बाँडफाँट भइरहेको सूचनाका आधारमा प्रहरी टोली सक्रिय भई उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षक कैलाश लिम्बूको नेतृत्वमा खटिएको टोलीले शनिबार राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–७ जामवाढी क्षेत्रमा को १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गरेको थियो। जाँचका क्रममा गाडीभित्रबाट ४ लाख ४९ हजार रुपैयाँ नगदसहित नेपाली कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमुना मतपत्र बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली रहेका छन्। प्रहरी स्रोतका अनुसार घिमिरे नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाली पार्टीका क्रियाशील सदस्य हुन्।
प्रहरीले बरामद नगद, प्रचार सामग्री र सवारीसाधनसहित तीनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवामा राखेको छ। निर्वाचन आचारसंहिताविपरीत मतदाता प्रभावित पार्ने उद्देश्यले रकम वितरण गर्न लागेको आशंकामा उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
बरामद रकमको स्रोत, ओसारपसारको उद्देश्य तथा यस घटनामा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सुरक्षा सतर्कता बढाइएको र आचारसंहिताविपरीत गतिविधि गर्ने जो–कोहीमाथि कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ