काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय ९ बजेपछि सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा र सार्वजनिक शान्ति सुनिश्चित गर्न काठमाडौं जिल्लाभित्र सञ्चालन हुने सबै रात्रीकालीन व्यवसायहरू मिति २०८२/११/१८ गतेदेखि अर्को निर्णय नभएसम्म राती ९:०० बजेपछि बन्द गर्न निर्देशन दिएको हो ।
सूचनामा उल्लेख छ कि बार, रेष्टुरेन्ट, क्लब, इन्टरटेन्मेन्ट सेन्टर तथा अन्य सबै रात्रीकालीन व्यवसायहरू निर्धारित समयभन्दा ढिला सञ्चालन नगराउनुपर्नेछ। प्रशासनले व्यवसायी, कर्मचारी र सरोकारवालाहरूलाई समय पालना गर्न आग्रह गर्दै उल्लंघन भए कानूनी कारबाही गरिने चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजाल ले भनेका छन्, “आसन्न निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक सुरक्षा सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो। व्यवसायीहरूले यो निर्देशन पालना गर्दा सुरक्षा र व्यवस्था दुवै कायम रहनेछ।”
प्रशासनले यस निर्णयको उद्देश्य केवल सुरक्षा र शान्ति कायम राख्नु मात्र नभई निर्वाचन प्रक्रियामा अवरोध नपर्ने सुनिश्चित गर्नु रहेको स्पष्ट पारेको छ। नागरिक तथा व्यवसायीहरूलाई प्रशासनको यो निर्देशन पालना गर्न अनुरोध गरिएको छ।