ई-आर्थिक, काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।
बुधबार गृहमन्त्री एवम् सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले पत्रकार सम्मेलन गर्दै सरकारले फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्रस्ताव गरिएको चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय भएको प्रवक्ता अर्यालले बताए । साथै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ।
सरकारले २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ।
सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, बैठकले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने, र बिमा ऐन २०७९ अनुसार मुद्दा कारबाहीका विषयमा जिल्ला अदालतलाई जिम्मेवारी दिने निर्णयहरू पनि गरेको छ।
उनका अनुसार निर्वाचनको क्रममा घाइते हुने सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार खर्च नेपाल सरकारले बेहोर्ने तथा सो अवधिमा मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय भएको छ । सेती खोला जलविद्युत् आयोजनाको १३२ केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख–पोल हटाउन स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।
साथै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई फ्रान्समा आयोजना हुने २१ औँ इन्टरपोल सम्मेलनमा सहभागी हुन स्वीकृति दिने लगायतका निर्णयहरू भएका छन् ।

