काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री बनाउन राष्ट्रिय मानव अधिकार आयोगले सबै राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता, नागरिक समाज र अभिभावकहरूलाई सतर्क रहन आग्रह गरेको छ।
आयोगले देशभर निर्वाचनपूर्वको अनुगमन तीव्रता दिएर गर्दै आएको छ। पछिल्ला दिनहरूमा दाङ, रौतहट, पर्सालगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ता र समूहहरूबीच विवादका घटना देखिएका छन्। यी घटनाले निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना गर्नुका साथै शान्ति सुरक्षामा चुनौती थपिरहेको आयोगले जनाएको छ।
विशेष गरी आयोगले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको, सामाजिक सञ्जालमा बालबालिकालाई संलग्न गराइएको र प्रचार प्रसारमा आचारसंहिता उल्लङ्घन गरिएको पाइएको बताएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेल का अनुसार, निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न सबै पक्षको जिम्मेवारी रहेको छ।
आयोगले सबै राजनीतिक दल, उम्मेदवार, शिक्षक, अभिभावक र नागरिकलाई धैर्यता अपनाउन, अमर्यादित र घृणायुक्त अभिव्यक्ति नदिन, सामाजिक सद्भाव विथोल्ने सामग्री प्रकाशन नगर्न, शान्ति सुरक्षामा प्रभाव पार्ने गतिविधि नगर्न र बालबालिकाको प्रयोग नगर्न विशेष अपिल गरेको छ।
आयोगले यस कदममार्फत नागरिकको मानव अधिकारको सम्मान र देशको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।