२०८३ साउन ११ सोमबार

मतपत्र वितरण, मतदाता शिक्षा, बैंक खाता सञ्चालन र आचारसंहिता अनुगमन तीव्र गतिमा

ई आर्थिक    शुक्रबार, फाल्गुन ८ २०८२
2.1K
Shares
मतपत्र वितरण, मतदाता शिक्षा, बैंक खाता सञ्चालन र आचारसंहिता अनुगमन तीव्र गतिमा

काठमाडौं।  प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आयोगले अन्तिम तयारी पुर्‍याएको छ। आयोगका अनुसार मतपत्र छपाइ र वितरण, मतदाता शिक्षा, प्रचारप्रसार बैंक खाता सञ्चालन र आचारसंहिता अनुगमन जस्ता कार्यहरू निर्धारित तालिका अनुसार तीव्र गतिमा अघि बढिरहेका छन्।

मतदाता शिक्षाका लागि फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६,७४३ वडामा स्वयंसेवक परिचालित छन्। उनीहरूले नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र निर्वाचनको महत्व बारे जनचेतना फैलाइरहेका छन्। साथै आयोगले डिजिटल प्लेटफर्ममार्फत ३४५ भन्दा बढी सामग्री प्रचारप्रसार गर्दै मतदाता सहभागिता र निर्वाचन पारदर्शिता बढाउने प्रयास गरेको छ।

निर्वाचन प्रचारप्रसारमा पारदर्शिता सुनिश्चित गर्न ७ राजनीतिक दल र ८६७ उम्मेदवारले बैंक खाता खोलेका छन्। आयोगले सातै प्रदेशमा राजनीतिक दल र उम्मेदवारसँग छलफल कार्यक्रम सञ्चालन गरी खर्च व्यवस्थापन र आर्थिक अनुशासनबारे जानकारी दिएको छ।

मतपत्र छपाइ र वितरण पनि सम्पन्न भइसकेको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्रका लागि २,०३,२३,००० मतपत्र छपाइ भइसकेको छ भने समानुपातिक प्रणालीतर्फ २,०८,३०,००० मतपत्र छपाइ गरिसकिएको छ।

निर्वाचन आचारसंहिता पालनाको अनुगमन निरन्तर भइरहेको छ। आयोगले ७५ उजुरीमा स्पष्टीकरण मागिसकेकोमा ५२ उजुरीको जवाफ प्राप्त भएको छ। हानिकारक वा मिथ्या सूचना फैलाउने २९० कन्टेन्ट उत्पादक/सम्प्रेषकलाई कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ।

यस निर्वाचनका लागि ३७ राष्ट्रिय र ४ अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थालाई अनुमति दिइएको छ र करिब ४,३०० पर्यवेक्षक परिचयपत्र प्राप्त गरिसकेका छन्। आयोगको कल सेन्टरमार्फत फागुन ७ गतेसम्म ३,०६४ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा मतदाता नामावली, मतदान प्रक्रिया र अन्य जानकारी समावेश छन्।

निर्वाचन आयोगले मतदाता शिक्षाको माध्यमबाट नागरिकलाई सचेत बनाउने र निर्वाचनको पारदर्शिता सुनिश्चित गर्ने कार्यमा जोड दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij