काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई सुरक्षित, स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरूसँग छलफल गरेको छ।
छलफलमा आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानव अधिकार संरक्षणसम्बन्धी तयारीबारे सुरक्षा निकायबाट जानकारी पाउन चाहनुभएको थियो।
कार्यक्रममा आयोगका माननीय सदस्यहरू, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख उपस्थित थिए।
सुरक्षा निकायका प्रमुख र पदाधिकारीहरूले आवश्यक सहायता सामग्रीको केही कमी भए तापनि उच्च मनोबलका साथ निर्वाचन सुरक्षा तयारी गरिरहेको जानकारी दिनुभयो।
राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वच्छ वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक सञ्चार, सुरक्षा, यातायात तथा अन्य सामग्रीहरूको यथोचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।