ई–आर्थिक, काठमाडौं । सरकारले स्वचालित मार्गबाट स्वीकृत हुने विदेशी लगानीका उद्योगहरूको सूची सार्वजनिक गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै विभिन्न क्षेत्रका उद्योगलाई यस्तो सुविधा दिने व्यवस्था गरेको हो।
मन्त्रालयका अनुसार अब स्वचालित मार्गबाट हुने विदेशी लगानीका लागि न त अधिकतम सीमा तोकिनेछ, न त न्यूनतम सीमा नै। यसअघि यस्तो लगानी स्वीकृतिको सीमा ५० करोड रुपैयाँ निर्धारण गरिएको थियो।
ऊर्जामूलक उद्योग प्राथमिकतामा
ऊर्जामूलक उद्योग अन्तर्गत वायु, सौर्य शक्ति, प्राकृतिक तेल तथा ग्यास, बायोमास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योगहरू स्वचालित मार्गमा समावेश गरिएका छन्।
त्यस्तै ऊर्जा उत्पादनमा प्रयोग हुने मेसिन तथा उपकरण निर्माण, बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सहउत्पादनका रूपमा उत्पादन हुने ऊर्जा तथा ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने क्षेत्र पनि सूचीमा परेका छन्।
कृषि तथा वन पैदावारमा आधारित उद्योग
फलफूल तथा तरकारी प्रशोधन, खाद्य वस्तुको उत्पादन, प्रशोधन तथा भण्डारण, पशुपन्छीको दाना उत्पादन, रेसा, चिया, कफी, जडीबुटी, रबर प्रशोधनलगायतका उद्योगलाई पनि स्वचालित स्वीकृति दिइनेछ।
यसैगरी शीतभण्डार, फर्निचर तथा काष्ठ उद्योग, पार्केटिङ, सिजनिङ, ट्रिटमेन्ट प्लान्ट, प्लाइउड, कम्पोजिट बोर्ड, कागज, रेजिन तथा अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित उद्योग र कपास प्रशोधन उद्योग पनि यस सूचीमा समेटिएका छन्।
पूर्वाधार र पर्यटन क्षेत्र समेटिए
पूर्वाधारतर्फ सभा सम्मेलन केन्द्र, सवारी पार्किङगृह, निर्यात प्रशोधन क्षेत्र, कार्गो कम्प्लेक्स, प्रदूषित पानी प्रशोधन उद्योग, फिल्म सिटी, व्यापारिक कम्प्लेक्स तथा निजी वेयरहाउस व्यवसायलाई समावेश गरिएको छ।
पर्यटन क्षेत्रमा मोटेल, होटल, रिसोर्ट, रेस्टुराँ, हिलिङ सेन्टर, सभा सम्मेलन तथा खेलकुद पर्यटन, मनोरञ्जन पार्क र वाटर पार्कमा आउने विदेशी लगानी पनि स्वचालित मार्गबाट स्वीकृत हुनेछ।
सूचना प्रविधि र सेवामूलक उद्योगमा पनि सहजता
सूचना प्रविधि क्षेत्र अन्तर्गत टेक्नोलोजी पार्क, आईटी पार्क, बायोटेक पार्क, सफ्टवेयर विकास, तथ्याङ्क प्रशोधन, डिजिटल म्यापिङ, बीपीओ, केपीओ, डेटा सेन्टर, डेटा माइनिङ, क्लाउड कम्प्युटिङ, वेब पोर्टल, वेब डिजाइन र वेब होस्टिङजस्ता उद्योगलाई पनि स्वचालित स्वीकृति दिइनेछ।
सेवामूलक उद्योग अन्तर्गत करिब दुई दर्जन व्यवसाय—जस्तै वर्कसप, छापाखाना, निर्माण व्यवसाय, अस्पताल, नर्सिङ होम, योग तथा ध्यान केन्द्र, खेलकुद सेवा, फोहोरमैला व्यवस्थापन, पशु चिकित्सा सेवा, स्वास्थ्य परीक्षण, कार्गो सेवा, ड्राइक्लिनिङ, विज्ञापन सेवा, माटो परीक्षण, स्वास्थ्य क्लब, खनिज अध्ययन तथा अनुसन्धान तथा उपकरण मर्मत सेवा—ले पनि उक्त सुविधा पाउनेछन्।
उत्पादनमूलक उद्योगका ४१ प्रकार समावेश
उत्पादनमूलक उद्योग अन्तर्गत ४१ प्रकारका उद्योग व्यवसायलाई स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत हुने व्यवस्था गरिएको छ। यसमा चिनी, पेय पदार्थ, सिमेन्ट, इँटा, जस्तापाता उत्पादन गर्ने उद्योगलगायत समेटिएका छन्।
सरकारको यो निर्णयले विभिन्न क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने र औद्योगिक विकासलाई गति दिने अपेक्षा गरिएको छ।