२०८३ साउन ११ सोमबार

होटेल ईष्टर्न नेपालको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ई आर्थिक    सोमबार, फाल्गुन ४ २०८२
2.8K
Shares
होटेल ईष्टर्न नेपालको आईपीओ निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

एनआईसी एशिया क्यापिटल र होटेल ईष्टर्न नेपालबीच प्राथमिक शेयर निष्कासनसम्बन्धी सम्झौता

काठमाडौं ।   एन आई सी एशिया क्यापिटल लिमिटेड र होटेल ईष्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा निष्कासन गरिने शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

एन आई सी एशिया क्यापिटलले आफ्नो “एसएमई टु आईपीओ” सेवा अन्तर्गत विभिन्न क्षेत्रका कम्पनीहरूलाई स्थापना कालदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

सोही सेवा अन्तर्गत मेचिनगर–१०, झापामा कारोबार कार्यालय रहेको होटेल ईष्टर्न नेपाल लिमिटेडले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्था तथा प्रचलित कानुनअनुसार भविष्यमा सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने प्रयोजनका लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै द्विपक्षीय सम्झौता गरेको हो ।

होटेल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रस्तावित पाँचतारे होटेल हो । होटेल सञ्चालनका लागि कन्टिनेन्टल होटेल्स ग्रुप (एशिया प्यासिफिक) प्रा.लि. (सीएचजी) अन्तर्गतको विश्वप्रसिद्ध ब्रान्ड “होलिडे इन एक्सप्रेस एण्ड सुइट्स” सँग व्यवस्थापकीय सम्झौता सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । उक्त सम्झौताअनुसार होटेलको समग्र व्यवसाय विस्तार, सञ्चालन तथा व्यवस्थापनमा सम्बन्धित कम्पनीको प्रत्यक्ष सहभागिता रहनेछ ।

निर्माणको अन्तिम चरणमा रहेको होटेल ईष्टर्न नेपालले २०८३ साल वैशाखभित्र नियमित सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । सञ्चालन सुरु भएसँगै पाँचतारे स्तरका सेवा–सुविधा उपलब्ध गराइने जनाइएको छ ।

होटेल भारतीय सीमाबाट करिब ७ किलोमिटर तथा भारतको बागडोगरा विमानस्थलबाट करिब २७ किलोमिटर दूरीमा अवस्थित भएकाले भारतीय पर्यटकको आकर्षण रहने अपेक्षा गरिएको छ । यसले होटेलको व्यवसाय विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ ।

होटेल सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय स्तरका सेमिनार, सभा–सम्मेलन तथा गोष्ठी आयोजना गर्न सहज हुने र त्यसबाट पर्यटन प्रवर्द्धन तथा वैदेशिक मुद्रा आर्जनमार्फत देशको अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

साथै, एन आई सी एशिया क्यापिटलले “एसएमई टु आईपीओ” सेवा अन्तर्गत निजी कम्पनीलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी साधारण शेयर निष्कासनसम्मका कार्यका लागि परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ । उक्त सेवा लिन इच्छुक कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीसँग सम्पर्क गर्न सक्ने जनाइएको छ

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij