२०८३ साउन ११ सोमबार

नेपाल विद्युत प्राधिकरणद्वारा तम्घास-बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन परीक्षणसहित सञ्चालनमा

ई आर्थिक    आइतबार, फाल्गुन ३ २०८२
1.8K
Shares
नेपाल विद्युत प्राधिकरणद्वारा तम्घास-बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन परीक्षणसहित सञ्चालनमा

गुल्मी : नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तिबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आजदेखि परीक्षणसहित सञ्चालनमा ल्याउने भएको छ।

गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सवस्टेशनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह गरिने प्राधिकरणले जनाएको छ।

यो आयोजना ‘बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना’ अन्तर्गत निर्माण गरिएको हो।

सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

उच्च भोल्टेजका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारण लाइनका टावरमा नचढ्न, तार वा संरचना नछुन, टावर वरिपरि नजान तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न आग्रह गरेको छ।

खतरा संकेत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई सचेत गराउन पनि अनुरोध गरिएको छ। परीक्षणका क्रममा कुनै स्थानमा झिल्का (स्पार्क) देखिएमा वा अन्य जोखिम देखिएमा नजिकको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा तुरुन्त जानकारी गराउन भनिएको छ।

यी क्षेत्र हुँदै गुज्रिन्छ प्रसारण लाइन

प्रसारण लाइनको रुट गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै गुज्रिएको छ।

गुल्मीमा रेसुङ्गा नगरपालिका वडा नं. ३, ४ र ५, ईस्मा गाउँपालिका वडा नं. २ तथा मुसिकोट नगरपालिका वडा नं. १, २ र ३ (बडागाउँ, पौदीअमराई र नेटा) समेटिएका छन्।

त्यस्तै बागलुङमा वडिगाड गाउँपालिका वडा नं. २, ५, ६ र ७ (दगातुन्डाँडा, ग्वालीचौर, भिमगीठे) तथा ढोरपाटन नगरपालिका–२ बुर्तिबाङ क्षेत्र पर्दछन्।

विद्युत आपूर्ति थप भरपर्दो हुने अपेक्षा

आयोजना सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत आपूर्ति थप विश्वसनीय र सुदृढ हुने अपेक्षा गरिएको छ। कपिलवस्तुको मोतिपुरस्थित सवस्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र मुसिकोटको पौदीअमराई हुँदै बुर्तिबाङसम्म विद्युत विस्तार हुने जनाइएको छ।

पछिल्ला दुई वर्षदेखि १३२ केभीमार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सवस्टेशनबाट विद्युत वितरण हुँदै आएको थियो। अब उनाएचौरबाट पौदीअमराई र बुर्तिबाङ सवस्टेशनमा चार्ज तथा परीक्षण कार्य सुरु गरिएको आयोजनाले जनाएको छ।

चार अर्ब बढी लागतमा निर्माण

प्राधिकरणका अनुसार करिब चार अर्ब रुपैयाँभन्दा बढी लागतमा १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो।

विभिन्न स्थानमा सवस्टेशन निर्माण भएसँगै विद्युत ओभरलोडको समस्या कम हुने र पटक–पटक बत्ती जाने समस्या समाधान हुने विश्वास गरिएको छ। विशेषगरी बुटवल सवस्टेशनबाट लामो दूरीमा विद्युत आपूर्ति हुँदा देखिएका समस्या उनाएचौर सवस्टेशन सञ्चालनमा आएपछि उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij