२०८३ भाद्र २८ आइतबार

स्याङ्जा–१ मा दुई पूर्व बैंकरबीच कडा भिडन्त, निर्वाचन रोमाञ्चक बन्दै

ई आर्थिक    शनिबार, फाल्गुन २ २०८२
3.2K
Shares
स्याङ्जा–१ मा दुई पूर्व बैंकरबीच कडा भिडन्त, निर्वाचन रोमाञ्चक बन्दै

स्याङ्जा : फागुन २१ गते हुने संघीय निर्वाचन नजिकिँदै जाँदा स्याङ्जाको निर्वाचन क्षेत्र नं. १ मा एउटै बैंकसँग सम्बन्धित दुई पूर्व बैंकरबीचको प्रतिस्पर्धा चर्चाको विषय बनेको छ।

यस क्षेत्रमा मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहिसकेका दुई उम्मेदवार आमनेसामने भएका हुन्।

कांग्रेसबाट ढकाल, एमालेबाट गुरुङ

नेपाली कांग्रेसका तर्फबाट आँधीखोला गाउँपालिका–६ निवासी पूर्व अध्यक्ष तथा सीईओ भरतराज ढकाल उम्मेदवार हुनुहुन्छ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट पुतलीबजार नगरपालिका–९ निवासी पूर्व अध्यक्ष मिनप्रसाद गुरुङ प्रतिस्पर्धामा रहनुभएको छ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी लगायत अन्य दल र स्वतन्त्र उम्मेदवार गरी १२ जना चुनावी मैदानमा रहे पनि मुख्य प्रतिस्पर्धा भने ढकाल र गुरुङबीच हुने अनुमान गरिएको छ।

एउटै बैंकबाट राजनीतिक यात्रातर्फ

२०६३ पुस १९ गते स्थापना भएको मुक्तिनाथ विकास बैंकका २९ जना संस्थापक सदस्यमध्ये ढकाल र गुरुङ दुवै संलग्न थिए।

ढकालले बैंक स्थापना भएलगत्तै २०६३ देखि १२ वर्षसम्म सीईओका रूपमा काम गर्नुभएको थियो। त्यसपछि २०७६ देखि २०८० सम्म अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो। उहाँले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीको अध्यक्षका रूपमा पनि काम गरिसक्नुभएको छ।

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ढकाल कांग्रेसको वित्तीय तथा सहकारी विभागको केन्द्रीय सदस्य रहनुभएको छ। उहाँ पूर्व पत्रकारसमेत हुनुहुन्छ र नेपाल पत्रकार महासंघ स्याङ्जाका संस्थापक सदस्य पनि हुनुहुन्छ।

एमाले उम्मेदवार गुरुङ बैंकका संस्थापक सदस्य हुनुका साथै २०७२ देखि २०७४ सम्म अध्यक्ष रहनुभएको थियो। २०७४ को निर्वाचनमा क्षेत्र नं. १ (क) बाट उम्मेदवार बनेपछि उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको थियो।

२०३६ सालमा अनेरास्ववियु (पाँचौँ) स्याङ्जाका संस्थापक अध्यक्ष रहनुभएका गुरुङ एमाले गाउँकमिटी सचिव हुँदै जिल्ला कमिटी अध्यक्ष र हाल प्रदेश उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ। प्रदेशसभामा एक कार्यकाल अनुभव बटुलिसक्नुभएका उहाँका लागि संघीय निर्वाचनको यो पहिलो प्रतिस्पर्धा हो।

स्याङ्जा–१ को चुनावी गणित

अघिल्ला निर्वाचनहरूमा यस क्षेत्रमा कांग्रेस र एमालेले पालैपालो जित्दै आएका छन्। दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं. १ मा १ लाख ३० हजार ८८६ मतदाता रहेका छन्।

एकै बैंकको नेतृत्व सम्हालेका दुई प्रभावशाली व्यक्तित्वबीचको भिडन्तले यसपटक स्याङ्जा–१ को चुनावी माहोल थप रोचक बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij