३५औँ स्थापना दिवस
काठमाडौं । “सुशासन र समृद्धि नागरिकको अधिकारः भ्रष्टाचार नियन्त्रणमा बनौं सबै जिम्मेवार” भन्ने नारासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको मूल समारोह सम्पन्न भएको छ। कार्यक्रम सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले भ्रष्टाचार राज्यको वैधानिकता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यप्रति गम्भीर चुनौती भएको उल्लेख गरे। सार्वजनिक शक्तिको दुरुपयोगले शासन प्रणालीप्रति निराशा बढ्ने र कानुनप्रति आस्था कमजोर बन्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रण राज्यका सबै अंग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको साझा जिम्मेवारी भएको धारणा राखे।
विशिष्ट अतिथि प्रधानमन्त्री सुशीला कार्कीले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा आयोगको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिक दायित्व भएको उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखले आफ्नो निकायभित्र सुशासन कायम गर्न जिम्मेवार हुनुपर्नेमा जोड दिइन्। भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनका लागि दोस्रो राष्ट्रिय रणनीतिक कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको जानकारी पनि उनले दिइन्।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगले अनुसन्धान, मुद्दा दायर गर्ने कार्यसँगै निरोधात्मक र प्रवर्द्धनात्मक गतिविधि पनि अघि बढाएको बताए। सार्वजनिक खरिद, बजेट विनियोजन, अनुदान वितरण, राजस्व चुहावट, घुस लेनदेन तथा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढी आउने गरेको उनले जानकारी दिए। भ्रष्टाचार नियन्त्रणका लागि आधुनिक प्रविधि र दक्ष जनशक्तिको विकास आवश्यक रहेको पनि उनले औंल्याए।
कार्यक्रममा राष्ट्रपतिले ‘अख्तियार स्मारिका–२०८२’ लोकार्पण गरे भने उपराष्ट्रपतिले सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने पाँच जना सञ्चारकर्मी तथा लेखकलाई सम्मान गरे। प्रधानमन्त्रीले आयोगका एक कर्मचारीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार र तीन जनालाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिन्।
समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।