२०८३ साउन ११ सोमबार

जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर उपलब्ध

ई आर्थिक    सोमबार, माघ २६ २०८२
1.3K
Shares
जीएसएम प्रिपेड ग्राहकका लागि अनलाइन केवाईसी अपडेट सेवा देशभर उपलब्ध

काठमाडौं ।  नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकले अब आफ्नो ग्राहक विवरण आफैं अनलाइनमार्फत अद्यावधिक गर्न सक्ने भएका छन्। कम्पनीमा रहेको ग्राहक विवरण (KYC – Know Your Customer) अनलाइन प्रणालीमार्फत भरेर अपडेट गर्न मिल्ने व्यवस्था लागू गरिएको हो।

गत पुस २२ गते दूरसञ्चार कार्यालय, सुन्धाराबाट परीक्षणका रूपमा शुभारम्भ गरिएको उक्त सेवा नेपाल टेलिकमको २२औं वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ गतेदेखि देशभरका सबै कार्यालयमार्फत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

यसअनुसार हाल आफ्नो नाम वा अन्य व्यक्तिगत विवरण सच्याउनुपर्ने अवस्था भएका ग्राहकले नेपाल टेलिकमको कस्टमर लगइन पोर्टलमार्फत आवश्यक विवरण भरी अद्यावधिक गर्न सक्नेछन्। विवरण भर्दा सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी प्रयोग गर्नुपर्नेछ भने व्यक्तिगत विवरणसँगै आफूले धेरै प्रयोग गर्ने पाँच वटा मोबाइल नम्बर पनि उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

सबै विवरण भरिसकेपछि प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेछ। सोही विवरणका आधारमा नेपाल टेलिकमको प्रणालीले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ।

हाल पनि धेरै ग्राहकको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यो प्रणालीले विवरण सच्याउन र अद्यावधिक गर्न सहज हुने कम्पनीको विश्वास छ। यस सेवाबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरिएको छ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले उक्त जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij