कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उनले बताए। ‘सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरु गरेका हौं,’ उनले भने। ‘यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ र थप पोटहोल बढ्न पाउँदैन।’ अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउसमेत भएको कार्यालयको दाबी छ। हाल करिब एक हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको र आवश्यकताअनुसार परिमाण बढाइने उनले जानकारी दिए।
कार्यालयको लक्ष्य खाल्डाखुल्डी मुक्त सडक बनाउनु रहेको भन्दै उनले जिल्लाको नारायणगढ-मुग्लिन, नारायणगढ-लोथर, भरतपुर-माडी तथा भरतपुर-मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिए। यहाँका सडक भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उनले बताए। हिउँदभन्दा वर्षामा सडक बढी बिग्रने भएकाले रेडिमेड प्रिमिक्सको आवश्यकता पनि त्यति नै बढी पर्ने उनको भनाइ छ। रासस