२०८३ साउन १० आइतबार

नारायणी नदीमा सुरु भयो नेपालकै पहिलो क्रुज सेवा : नाम ‘राइनो क्रुज’, लगानी ५० करोड

ई आर्थिक    सोमबार, माघ १९ २०८२
4.4K
Shares
नारायणी नदीमा सुरु भयो नेपालकै पहिलो क्रुज सेवा :  नाम ‘राइनो क्रुज’, लगानी ५० करोड

नवलपुर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा ५० करोड रुपियाँको लगानीमा नेपालकै पहिलो ‘राइनो क्रुज’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्थानीय पर्यटनलाई दिगो र सम्भावनायुक्त नयाँ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित आइतबार साँझदेखि क्रुज सेवा सुरु गरिएको हो।

राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिको संयुक्त लगानीमा सञ्चालनमा आएको राइनो क्रुजको उद्घाटन गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले गर्नुभएको हो। उद्घाटन समारोहमा नगरप्रमुख अधिकारीले राइनो क्रुजलाई गैंडाकोट नगरपालिकाको ‘नमुना गहना’को रूपमा उल्लेख गर्दै यसको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

हाल क्रुज सेवा गैँडाकोटको पुलचोकदेखि देवघाटसम्म सञ्चालन हुनेछ। नगरप्रमुख अधिकारीले यसले क्षेत्रीय पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै भविष्यमा देवघाटधामदेखि त्रिवेणीधामसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। क्रुज सञ्चालनका क्रममा नारायणी नदीमा देखिएका अवरोध हटाई नदीलाई गहिरो बनाउने कार्यमा पालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो।

रिभर क्राउन प्रालिका प्रवन्ध निर्देशक दीपक ढुंगेलका अनुसार साढे दुईतले राइनो क्रुजको लम्बाइ ९५ फिट र चौडाइ २१ फिट रहेको छ। क्रुजको अधिकतम क्षमता दुई सय यात्रु भए पनि हाल १५० यात्रुलाई सुविधाजनक रूपमा सेवा दिने गरी सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो। यो क्रुज यातायातको साधन नभई सुरक्षित र मनोरञ्जनात्मक जलयात्राका लागि सञ्चालनमा ल्याइएको ढुंगेलले स्पष्ट पार्नुभयो।

सामान्यतया क्रुजिङको समय अधिकतम एक घण्टा रहने भए पनि कार्यक्रम तथा प्याकेजअनुसार समय फरक–फरक हुन सक्ने बताइएको छ। टिकट दरअनुसार साधारण क्रुजिङका लागि पाँच सय रुपियाँ, ब्रेकफास्ट क्रुजिङ एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार र डिनर क्रुजिङ तीन हजार रुपियाँ तोकिएको छ। विशेष कार्यक्रमका लागि प्याकेजअनुसार छुट्टै शुल्क निर्धारण गरिएको छ।

राइनो क्रुज सञ्चालनपछि सम्भाव्यता अध्ययन गर्दै थप दुईवटा ‘मिनी क्रुज’ सञ्चालन गर्ने योजना पनि रहेको कम्पनीले जनाएको छ। यात्रु सुरक्षालाई ध्यानमा राख्दै क्रुजले प्रतियात्रु १० लाख रुपियाँ बराबरको बीमा गराएको ढुंगेलले जानकारी दिनुभयो। वर्षभरि सञ्चालन गर्ने लक्ष्यका साथ सुरु गरिएको यो क्रुजले ठूलो हावा र पानीको वहावमा समेत सुरक्षित रूपमा यात्रा गर्न सक्ने क्षमता राख्ने बताइएको छ।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार राइनो क्रुज सञ्चालनसँगै नवलपुर र आसपासका क्षेत्रहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij