२०८३ साउन १० आइतबार

अमेरिकी डलर छोडेर चीनको ‘रेन्मिन्बी’लाई शक्तिशाली विश्वव्यापी मुद्रा बनाउन सीको आह्वान

ई आर्थिक    सोमबार, माघ १९ २०८२
2.6K
Shares
अमेरिकी डलर छोडेर चीनको ‘रेन्मिन्बी’लाई शक्तिशाली विश्वव्यापी मुद्रा बनाउन सीको आह्वान

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ मुद्रा रेन्मिन्बीलाई अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा बजारमा व्यापक रूपमा प्रयोग हुने ‘शक्तिशाली मुद्रा’ बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, रेन्मिन्बीलाई विश्वव्यापी आरक्षित मुद्राको दर्जा दिलाउने लक्ष्य पनि उनले स्पष्ट पारेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र किउशी पत्रिकामा शनिबार प्रकाशित टिप्पणीमा सीले भनेका छन्, “रेन्मिन्बीलाई अन्तर्राष्ट्रिय व्यापार, लगानी र विदेशी मुद्रा बजारमा व्यापक रूपमा प्रयोग गर्न सकिन्छ, र आरक्षित मुद्राको स्थिति प्राप्त गर्न सकिन्छ।”

चीनले लामो समयदेखि रेन्मिन्बीको अन्तर्राष्ट्रियकरणलाई प्राथमिकतामा राख्दै आएको छ। सीको पछिल्लो टिप्पणीले ‘बलियो मुद्रा’ निर्माण गर्ने चीनको दीर्घकालीन रणनीतिलाई अझ स्पष्ट बनाएको विश्लेषकहरू बताउँछन्। उनका अनुसार यस लक्ष्यका लागि प्रभावकारी मौद्रिक व्यवस्थापन गर्ने शक्तिशाली केन्द्रीय बैंक, विश्वस्तरीय प्रतिस्पर्धी वित्तीय संस्था तथा विश्वभरको पुँजी आकर्षित गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय केन्द्रहरू आवश्यक छन्।

यो टिप्पणी सन् २०२४ मा शीर्ष अधिकारीहरूलाई दिएको भाषणका अंशबाट लिइएको हो, जुन हालै सार्वजनिक गरिएको हो। विश्व बजारमा अमेरिकी डलरको मूल्यमा उतारचढाव र बढ्दो भूराजनीतिक तनावको सन्दर्भमा सीको यस्तो आह्वान आएको हो।

प्यान्थियोन म्याक्रोइकोनोमिक्सका अर्थशास्त्री केल्भिन लामका अनुसार, “चीनले विश्वव्यापी व्यवस्थामा भइरहेको परिवर्तनलाई पहिलेभन्दा बढी गम्भीर रूपमा महसुस गरिरहेको छ।”

चीनको केन्द्रीय बैंकका गभर्नर पान गोंगसेङले गत वर्ष बहु–ध्रुवीय विश्वव्यापी मुद्रा प्रणालीको सम्भावना औँल्याउँदै रेन्मिन्बीले अन्य प्रमुख मुद्रासँग प्रतिस्पर्धा गर्ने बताएका थिए।

द एसिया ग्रुपका विश्लेषक हान शेन लिन भन्छन्, “बेइजिङ युआनलाई गम्भीर विश्वव्यापी मुद्रा बनाउन चाहन्छ। रातारात डलरलाई विस्थापित गर्नु लक्ष्य होइन, तर रणनीतिक सन्तुलनका रूपमा अमेरिकी प्रभावलाई सीमित गर्न चाहन्छ।”

सन् २०२२ को रुस–युक्रेन युद्धपछि रेन्मिन्बी विश्वको दोस्रो सबैभन्दा ठूलो व्यापारिक मुद्रा बनेको भए पनि आरक्षित मुद्राका रूपमा यसको हिस्सा अझै सीमित छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२५ को तेस्रो त्रैमासिकमा अमेरिकी डलरको हिस्सा ५६.९२ प्रतिशत रहेको छ भने रेन्मिन्बीको हिस्सा मात्र १.९३ प्रतिशत छ।

विश्लेषकहरूका अनुसार खुला पुँजी खाता र पूर्ण रूपान्तरण बिना रेन्मिन्बीको विश्वव्यापी प्रयोग उल्लेखनीय रूपमा बढ्न कठिन छ। यसैबीच, चीनका व्यापार साझेदारहरूले रेन्मिन्बीको मूल्य बढाउन आग्रह गर्दै आएका छन्, किनभने कमजोर मुद्रा नीतिले निर्यात सस्तो बनाएर ठूलो व्यापार अधिशेष सिर्जना गरेको आरोप लाग्दै आएको छ।

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएभाले चीनलाई अर्थतन्त्रभित्रको असन्तुलन समाधान गर्न आह्वान गरिसकेकी छन्। तर चीनका नीति निर्माताहरूले भने रेन्मिन्बीलाई स्थिर राख्ने र दीर्घकालीन मूल्य भण्डारको रूपमा सुरक्षित गर्नु नै मुख्य उद्देश्य रहेको बताउँदै आएका छन्।

विश्लेषकहरूका अनुसार सी जिनपिङको यो स्पष्ट सन्देशले दीर्घकालमा विश्वव्यापी लगानीकर्ताहरूको धारणा बदल्न सक्ने र अमेरिकी डलरको प्रभुत्वलाई क्रमशः चुनौती दिन सक्ने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij