२०८३ साउन १० आइतबार

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रवन्धक पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

ई आर्थिक    आइतबार, माघ १८ २०८२
2.9K
Shares
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रवन्धक पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। उदयपुर सिमेन्ट उद्योग लिमिटेड, जलजले, उदयपुरका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल लगायत ८ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारी अनुसार, प्रतिवादीहरूले उद्योगमा क्लिङ्करको वास्तविक मौज्दातभन्दा कम देखाएर करोडौं रकमको सार्वजनिक सम्पत्ति हिनामिना गरेको ठहर गरेको हो । आरोपपत्रमा उद्योगका तत्कालीन निमित्त महाप्रवन्धक, नायव महाप्रवन्धक, उत्पादन, भण्डार, क्लिङ्कर उत्पादन, सिमेन्ट उत्पादन र बिक्री विभागका प्रमुखहरू पनि समावेश छन्।

अख्तियारले उद्योगका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेल, निमित्त महाप्रवन्धक नवल किशोर साह, नायव महाप्रवन्धक महेश प्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जय कुमार लाल, भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, क्लिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर जी.सी. लाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय माग गर्दै आरोपपत्र दायर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एन्फोर्समेन्ट)ले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा क्लिङ्करको अस्वाभाविक हिनामिनासम्बन्धी भ्रष्टाचारको आरोपमा आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारको अनुसन्धान अनुसार आ.व. २०७४/०७५ देखि २०७७ पौष मसान्तसम्म उद्योगका तत्कालीन महाप्रवन्धक, निमित्त महाप्रवन्धक, नायव महाप्रवन्धक र उत्पादन, भण्डार तथा बिक्री विभाग प्रमुखहरूबीच आपसी मिलेमतो भएको र क्लिङ्करको वास्तविक मौज्दातभन्दा कम देखाएर सार्वजनिक सम्पत्ति हिनामिना भएको प्रमाण फेला परेको छ।

उद्योगमा प्रतिवादीहरूले अस्वाभाविक रूपमा घाटा देखाएको क्लिङ्करको विवरण यस प्रकार छ:

२०७४/०७५: १,१२९ मेट्रिक टन, लागत रु. १,१४,१०,३४०।११,

२०७५/०७६: १०,२०० मेट्रिक टन, लागत रु. ११,३३,११,९०२।–

२०७६/०७७: १,३२५ मेट्रिक टन, लागत रु. १,६२,४६,७१२।७५

२०७७ पौष मसान्तसम्म: २६,११५ मेट्रिक टन, लागत रु. ३२,४३,०५,४७१।४

कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर, रू. ४६,५२,७४,४२६।२६ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको ठहर भएको हो ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भने, “प्रतिवादीहरूले सार्वजनिक सम्पत्ति हिनामिना गर्ने कार्यमा आपसी मिलेमतो गरेका हुन्। सोही कारण अदालतमा आज आरोपपत्र दायर गरिएको हो।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij