२०८३ साउन १० आइतबार

नेपालगन्ज नाकाबाट जडिबुटी निर्यातमा उल्लेख्य वृद्धि, ६ महिनामै ३३ करोडभन्दा बढीको निकासी

ई आर्थिक    शनिबार, माघ १७ २०८२
2K
Shares
नेपालगन्ज नाकाबाट जडिबुटी निर्यातमा उल्लेख्य वृद्धि, ६ महिनामै ३३ करोडभन्दा बढीको निकासी

नेपालगन्ज : पश्चिम नेपालकै प्रमुख नाकामध्येको एक नेपालगन्ज नाकाबाट जडिबुटी निर्यात पुनः वृद्धि हुन थालेको छ। साविक मध्य तथा सुदूरपश्चिम क्षेत्रको केन्द्र र लुम्बिनी प्रदेशको प्रमुख आर्थिक केन्द्रका रूपमा परिचित नेपालगन्ज जडिबुटी निर्यातको ‘हब’का रूपमा चिनिँदै आएको छ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म यस नाकाबाट ३३ करोड रुपैयाँभन्दा बढी मूल्यको जडिबुटी निर्यात भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ११ लाख १४ हजार ८०४ किलो विभिन्न प्रकारका जडिबुटी निर्यात हुँदा ३३ करोड १३ लाख ४९ हजार रुपैयाँ आम्दानी भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको जडिबुटी निर्यात भएको थियो। यस वर्ष सोही अवधिमा निर्यात रकममा १४ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ।

यसैबीच, नेपालगन्ज नाकाबाट पहिलो पटक सल्लाको आँखला पनि निर्यात गरिएको छ। भन्सार कार्यालयका अनुसार पछिल्ला ६ महिनामा ६ लाख ३२ हजार रुपैयाँ बराबरको ३९ हजार ४८६ मेट्रिक टन सल्लाको आँखला निर्यात भएको छ। तर, सल्लाको आँखलामा सय प्रतिशत कर लाग्ने भएकाले निर्यात अपेक्षाकृत कम भएको व्यवसायीहरूले बताएका छन्।

हाल पछिल्लो समयमा जडिबुटी प्रशोधन गरेर निर्यात गर्ने क्रम पनि बढ्दै गएको उद्योगी व्यवसायीहरूको भनाइ छ। नेपालगन्ज नाकाबाट भारत निर्यात हुने प्रमुख जडिबुटीमा टिमुर, काउलो, सतुवा, बोझो, दालचिनी र अमला रहेका छन्।

जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्माका अनुसार नेपालबाट निकासी हुने कुल जडिबुटीमध्ये करिब ८५ प्रतिशत भारततर्फ निर्यात हुने गरेको छ। उहाँले केही वर्षयता जडिबुटी निर्यात पुनः बढ्दै गएको उल्लेख गर्दै सरकारले निर्यातमैत्री जडिबुटी नीति ल्याएमा निकासी अझ विस्तार हुने बताउनुभयो।

अध्यक्ष शर्माले हिमाली जिल्लामा जडिबुटी सङ्कलनका लागि इजाजतपत्र र छुट पुर्जी लिन सदरमुकाम धाउनुपर्ने झन्झट रहेको भन्दै साना व्यवसायीका लागि ओसारपसार नै चुनौतीपूर्ण बनेको गुनासो गर्नुभयो। एक जिल्लाबाट अर्को जिल्लामा जडिबुटी लैजानसमेत कठिनाइ हुने अवस्था रहेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij