काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा र प्रतिसेयर आम्दानी दुवैमा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ।
बैंकले पुस मसान्तसम्म ३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६.५ प्रतिशतले वृद्धि हो। खुद ब्याज आम्दानी केही घटे पनि फि तथा कमिशन आम्दानी र सञ्चालन मुनाफा बढेकाले समग्र नाफा उकासिएको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी बढेर १७ रुपैयाँ नाघेको छ भने वितरणयोग्य मुनाफा २ अर्ब ४२ करोड रुपैयाँमा सीमित रहेको छ। पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँभन्दा बढी रहेको छ।
हाल बैंकको चुक्ता पूँजी ३८ अर्ब रुपैयाँभन्दा बढी छ। बैंकले ६ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।