२०८३ साउन ११ सोमबार

लाइसेन्स घोटाला प्रकरणः अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा

ई आर्थिक    मंगलबार, माघ १३ २०८२
2.5K
Shares
लाइसेन्स घोटाला प्रकरणः अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सम्बन्धी भ्रष्टाचार प्रकरणको अनुसन्धानका क्रममा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ।

आयोगका अनुसार लाइसेन्सको लिखित परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीहरूलाई बिचौलियामार्फत रकम उठाएर पुनः परीक्षामा सहभागी गराइएको सूचनाका आधारमा छानबिन सुरु गरिएको हो। छानबिनका क्रममा कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र कागजातहरू बरामद गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुख अधिकृत पेशल कुमार पोखरेलसहित अन्य कर्मचारीहरूले बिचौलियामार्फत सेवाग्राहीसँग प्रतिव्यक्ति ५ हजारदेखि १० हजार रुपैयाँसम्म रकम संकलन गर्दै आएका थिए। लिखित परीक्षामा फेल भएको तीन महिना अवधि नपुग्दै पुनः आवेदन दर्ता गराई परीक्षामा सहभागी गराएर भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरीका आधारमा टंगालस्थित आयोगबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको हो।

छानबिनका क्रममा कार्यालय प्रमुख पोखरेलसहित कार्यालयका १७ जना कर्मचारीका २५ थान मोबाइल फोन बरामद गरिएको छ। यसैगरी उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जनाका तीन थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

त्यस्तै नेपाल ड्राइभिङ एण्ड रिकन्डिसन सेन्टर प्रालिका मेनेजर बालकृष्ण सिंहसहित सात जनाको एक थान मोबाइल फोन पनि बरामद गरिएको छ।

लिखित परीक्षामा अनुत्तीर्ण भएको मितिले तीन महिना अवधि नपुग्दै पुनः परीक्षामा सहभागी भएका परीक्षार्थीका उत्तरपुस्तिकासहितका कागजातहरू पनि आयोगले जफत गरेको छ। आयोगले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij