काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनको समयमा शान्तिसुरक्षामा असर पार्ने किसिमका घृणाजन्य अभिव्यक्ति बन्द गर्न राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूबाट आपसी आरोप–प्रत्यारोप, अमर्यादित टिप्पणी तथा घृणायुक्त अभिव्यक्ति बढ्दै गएको भन्दै आयोगले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आयोगका अनुसार यस्ता अभिव्यक्तिले समाजमा अराजकता फैलाउने र निर्वाचनका बेला शान्तिसुरक्षामा चुनौती सिर्जना गर्न सक्ने जोखिम रहन्छ। संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरे पनि अरूको मर्यादा र सार्वजनिक सुरक्षामा आँच पुग्ने गतिविधिलाई केवल अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र सीमित गर्न नमिल्ने आयोगले बतायो ।
प्रेस–विज्ञप्तिमार्फत आयोगले सामाजिक सञ्जालको प्रयोग गर्दा समेत शिष्ट र मर्यादित भाषा प्रयोग गर्न, घृणायुक्त सामग्रीको प्रचार–प्रसार नगर्न तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गर्यो।
साथै, घृणाजन्य अभिव्यक्तिले समाजमा विभाजन र अस्थिरता निम्त्याउन सक्ने भएकाले शान्तिसुरक्षाको अवस्था थप मजबुत बनाउन नेपाल सरकारलाई समेत आवश्यक कदम चाल्न निर्देशन दिइएको आयोगले जनाएको छ।