काठमाडौं : काठमाडौंको ठमेलस्थित चर्चित ‘एलओडी’ (LORD of the Drinks) क्लब युकेस्थित प्रतिष्ठित संगीत म्यागेजिन डिजे म्याग ले गर्ने ‘टप १०० क्लब’ छनोटका लागि पुनः नोमिनेसनमा परेको छ। सन् २०२६ का लागि हुने क्याम्पेनमा एलओडी क्लबले लगातार उपस्थिति जनाउँदै आएको हो।
डिजे म्यागले हरेक वर्ष विश्वभरका उत्कृष्ट नाइट क्लबहरूबाट सय वटा क्लब छनोट गर्दै आएको छ। यस वर्ष पनि एलओडी क्लब टप १०० सूचीमा पर्न सफल भएकाले क्लब व्यवस्थापनले सबैलाई भोट गर्न अपिल गरेको छ।
भोट गर्न इच्छुकले एलओडी नेपालको वेबसाइटमा गएर ‘DJ Mag Top 100 Clubs’ मा क्लिक गर्न सक्नेछन्। त्यसपछि गुगल वा एप्पलमार्फत लगइन गर्ने विकल्प आउँछ। डिजे म्यागको भोटिङ पेजमा गएपछि तलको ‘सबमिट’ बटनमा क्लिक गरी आफ्नो देश, सहर र नाम उल्लेख गर्नुपर्ने हुन्छ। अन्तिम चरणमा क्लबको नाममा ‘LOD’ र सहरमा ‘Kathmandu’ लेखेर प्रक्रिया पूरा गर्न सकिन्छ।
एलओडी क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा पर्दा राष्ट्रकै पहिचान अन्तर्राष्ट्रिय स्तरमा जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए। सय उत्कृष्ट क्लबको सूचीमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि देशको नाम विश्वमञ्चमा चिनाउन सक्ने प्रमाणित हुने उनको भनाइ छ।
हाल एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४४औँ स्थानमा रहेको छ। सन् २०१९ मा स्थापना भएको एलओडीले अत्याधुनिक साउन्ड सिस्टम, उन्नत लाइटिङ र अन्तर्राष्ट्रिय स्तरको सांगीतिक वातावरण निर्माण गर्दै आएको श्रेष्ठले बताए। उनका अनुसार पाहुनाहरूका लागि अझ सुरक्षित र सहज वातावरण बनाउन साउन्ड र लाइटिङ प्रणालीलाई निरन्तर स्तरोन्नति गरिएको छ।
‘एलओडी क्लब केवल एउटा नाइट क्लब मात्र होइन, यो नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको छ,’ निर्देशक श्रेष्ठले भने, ‘नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रममार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ।’
विदेशी र स्वदेशी पर्यटक दुवैका लागि एलओडी क्लब ठमेलको प्रमुख गन्तव्य बनिसकेको बताउँदै उनले केही वर्षमै एलओडीले विश्वस्तरीय पहिचान स्थापित गर्न सफल भएको उल्लेख गरे।
एलओडी क्लब सन् २०२२ मा ५२औँ, २०२३ मा ४९औँ, २०२४ मा ५०औँ र २०२५ मा ४४औँ स्थानमा परिसकेको छ।