काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने विभिन्न सामानमा लाग्ने ट्यारिफ २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् । यसअघि १५ प्रतिशत रहेको ट्यारिफ बढाएर कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा लागू गर्ने निर्णय गरिएको हो ।
ट्रम्पले यो निर्णय सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेका हुन् । उनले यस कदमलाई ‘रेसिप्रोकल ट्यारिफ’को संज्ञा दिएका छन् । कुनै देशले अमेरिकी सामानमा उच्च आयात शुल्क लगाएमा अमेरिकाले पनि त्यस देशबाट आउने वस्तुमा समान रूपमा उच्च ट्यारिफ लगाउने नीति नै रेसिप्रोकल ट्यारिफ हो ।
दक्षिण कोरियाले गत वर्ष भएको व्यापार सम्झौता ठीकसँग कार्यान्वयन नगरेको आरोप लगाउँदै ट्रम्पले ट्यारिफ वृद्धि घोषणा गरेका हुन् । उनका अनुसार दक्षिण कोरियाको संसदले उक्त सम्झौतालाई अनुमोदन गर्न ढिलाइ गरेको छ, जबकि अमेरिकाले सम्झौताअनुसार आफ्ना ट्यारिफ छिट्टै घटाइसकेको छ ।
यता, दक्षिण कोरियाले भने ट्यारिफ बढाउने अमेरिकी निर्णयबारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ । साथै, यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्नुपर्ने धारणा दक्षिण कोरियाको रहेको बीबीसीले जनाएको छ ।
अमेरिकाले दक्षिण कोरियाबाट मुख्य रूपमा औद्योगिक तथा उच्च प्रविधिका सामान आयात गर्ने गर्दछ । कार र अटो पार्ट्स (हुन्डाई, किआजस्ता ब्रान्डका सवारी साधन र पार्ट्स), सेमिकन्डक्टर (चिप), मोबाइल फोन, टेलिभिजन, डिस्प्ले प्यानल, भारी मेसिनरी, प्लास्टिक, रासायनिक कच्चा पदार्थ, स्टिल शीट, पाइप तथा अन्य धातुजन्य सामग्री प्रमुख आयात वस्तु हुन् ।
यसका साथै केही औषधि, मेडिकल टेक्नोलोजी उपकरण, जहाज तथा समुद्री उपकरण, लिथियम ब्याट्री र इलेक्ट्रिक गाडीका कम्पोनेन्टहरू पनि अमेरिकाले दक्षिण कोरियाबाट आयात गर्ने प्रमुख वस्तुमा पर्छन् ।
यी क्षेत्रमा ट्यारिफ वृद्धि हुँदा दुवै देशका उद्योग तथा उपभोक्तामा प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ ।