काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १० हजार ४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन नेपाली बजारको अहिलेसम्मकै महँगो मूल्य हो।
यसअघि मंगलबार सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको थियो। त्यसको भोलिपल्ट नै झन्डै १० हजार रुपैयाँभन्दा बढीले मूल्य उक्लिएपछि सुनले नयाँ कीर्तिमान बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ। मंगलबार प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८ सय ८० रुपैयाँ पुगेको चाँदी बुधबार थप ४० रुपैयाँले बढ्दै ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। यो पनि हालसम्मकै उच्च मूल्य हो।
सुनको मूल्य बढ्नुका मुख्य कारणका रूपमा विश्व बजारमा बढ्दो भूराजनीतिक तनाव, अमेरिकी केन्द्रीय बैंकले ब्याजदर थप घटाउने अपेक्षा तथा वित्तीय बजारमा भइरहेको तीव्र परिवर्तनलाई लिइएको छ।