काठमाडौं । काठमाडौँको कागेश्वोरी मनोहरा नगरपालिका–६ मा अवस्थित प्रारम्भ एकेडेमीले आफ्नो वार्षिक ‘ई.सि.ए. मिट २०८२’ को भव्य रूपमा शुभारम्भ गरेको छ। कार्यक्रम बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारी प्रकाश सन्जेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण अधिकारीले सभापतित्व गर्नुभएको थियो।
बेलुन उडाएर उद्घाटन गरिएको कार्यक्रममा खेलकुदसम्बन्धी नाचगान, मार्च पास तथा परेड प्रस्तुत गरिएको थियो। साथै स्काउटका विद्यार्थीहरूले स्काउटसम्बन्धी विभिन्न आकर्षक प्रस्तुति दिएका थिए। उक्त स्पोर्ट्स कार्निभल आजबाट सुरु भई माघ ७ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न ९८ वटा विधामा सहभागिता जनाउनेछन्। प्रतियोगितामा विजयी हुने विद्यार्थीहरूलाई मेडल, ट्रफी तथा नगद पुरस्कार प्रदान गरिनेछ।
विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि प्रारम्भ एकेडेमीले यस्ता अतिरिक्त क्रियाकलापसम्बन्धी कार्यक्रमहरू हरेक वर्ष आयोजना गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले जानकारी दिनुभयो।
त्यसैगरी, विद्यालयका एकेडेमिक डाइरेक्टर राजेश घिमिरेले विद्यार्थी जीवनमा खेलकुदको अत्यन्तै महत्त्व रहेको उल्लेख गर्दै खेलकुदमार्फत अनुशासन, नेतृत्व र आत्मविश्वास विकास हुने भएकाले यस्ता गतिविधिहरू सबै विद्यालयमा सञ्चालन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा फेकाका अध्यक्ष रामेश्वर दाहाललगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।